छोरीलाई बलात्कार गरेको आरोपमा बुबा गिरफ्तार

  ०७७ साउन ११ गते

बुढिगंगा नगरपालिकाकी १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय बुबालाई साउन १० गते गिरफ्तार गरेको छ ।

आमा भैसी लिएर घरबाट खर्क गएपछि बुबाले आफूलाई बलात्कार गरेको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताइन् ।

उनले भनिन्–‘बलात्कारपछि रक्तश्राव भयो । कसैलाई घटनाका बारेमा जानकारी गराए मारी दिने बुबाले धम्की दिनु भयो । एक हप्तासम्म घर बाहिर जान दिनु भएन् ।’

पेट दुखेको भन्दै बालिका स्थानीय स्वास्थ्य चौकी चेकजाँच गर्न गएको समयमा स्वास्थ्यकर्मीले पेटमा बच्च रहेको बताएपछि घटना सार्वजनिक भएको पीडितकी आमले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

हाल बालिकालाई मार्तडीस्थित सेभ हाउसको संरक्षणमा राखिएको बताउँदै  आरोपितलाई कानुनी कारवाही तथा हाड नाता कारणीका कारण गर्भ रहन गएकोले कानुन अनुसार  पीडित बालिकाको गर्भपतनका लागि पहल भइरहेको सेभ हाउसकी संरक्षक रुकमणी शाहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य चेकजाँच गर्दा पेटमा रहेको बच्चा २५ देखी २७ हप्तासम्म भएको हुन सक्ने जिल्ला अस्पताल, बाजुराका प्रमुख डाक्टर रुप चन्द्र विश्वकर्माले बताउनु भयो ।

आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी अन्तर्गत मुद्दा दार्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी दानबहादुर रोकायाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते जिल्ला अस्पताल, बाजुरामा भएको प्रहरीले जनायो ।


पदमबहादुर सिंह