छोरीको हत्या गरेको कसुरमा आमा र प्रेमीलाई जन्मकैद

०७५ फागुन १८ गते

हनुमाननगर कङ्कालिनी नगरपालिका–६ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा २७ वर्षीया आमा रानीदेवी मण्डल र राजगढ गाउँपालिका–५ मलेकपुरका ३१ वर्षीय रानीका प्रेमी शिवशङ्कर मालीलाई जिल्ला अदालतले फागुन १७ गते जन्मकैदको सजाय गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्ङ्गानाको इजलासले आरोपितहरूलाई जन्मकैदको सजाय गर्नुका साथै जनही ६ महिनाको कैद सजाय पनि थप गरेको छ ।

न्यायाधीश ढुङ्गानाका अनुसार बालिकाको हत्यापछि लाश लुकाउने, दबाउने अभिप्रायले खोलामा बगाएकाले जनही ६ महिना कैद थपिएको हो । हत्या गरी खाँडो खोलामा बगाएको बालिकाको शव अझै फेला परेको छैन ।

वैदेशिक रोजगारका लागि सउदी अरबमा कार्यरत ३० वर्षीय सुर्यनारायण मण्डल ०७३ असोज १६ गते  घर फर्किँदा पत्नी र छोरीलाई घरमा फेला नपारेपछि खोजतलाशको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ साउन ३० गते उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले सोही दिन उजुरी दर्ता गरी खोजतलाश गर्ने क्रममा रानी र उनका प्रेमी मालीलाई ०७३ असोज १२ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो ।

तत्कालिन एसपी भिम ढकालले बताए अनुसारसउदी अरबबाट पति घर फर्कने भएपछि प्रेमीसँगको सल्लाहमा रानीले छोरीको हत्या गरी दुवै जना घर छाडेर भागेका थिए ।

गिरफ्तार आरोपितहरूले हत्या गरेको स्वीकारेपछि प्रहरीले कर्तव्य ज्यानको उजुरी दर्ता गरी कारबाही थालेको थियो ।

गिरफ्तार आरोपितहरू तत्कालिन जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

बालिकाको हत्या गरी खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएको भन्दै जिल्ला अदालत, सप्तरीले दुवै आरोपितलाई जन्मकैदसहित थप ६ महिना कैद सजायको अन्तिम फैसला सुनाएको स्रेस्तेदार दिलकुमार बर्देवाले बताए ।


मनोहरकुमार पोखरेल