छोरीको हत्या गरेको आरोपमा आमाबावु गिरफ्तार

  ०७४ चैत १५ गते

१६ वर्षीया नेहा वर्णवाललाई हत्या गरेको अरोपमा प्रहरीले चैत १४ गते वीरगञ्ज महानगरपालिका-१५ भिषूवाका ४९ वर्षीय बावु सत्यनारायण वर्णवाल र ३० वर्षीया सौतेनी आमा गीताकुमारी वर्णवाललाई गिरफ्तार गरेको छ ।

आरोपित दुवैलाई चैत १५ गते जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार फागुन १३ गते वर्णवाल दम्पतीले छोरी नेहाको हत्या गरी भारतमा लगेर दाहसंस्कार गरेका थिए । हत्या गरेपछि छिमेकीलाई चाल नदिइकन वीरगञ्जको रानीघाटमा लगेका थिए । रानीघाट वीरगञ्जको प्रसिद्ध घाट मानिन्छ ।

वर्णवाल दम्पतीले सोही ठाउँमा भारतीय एम्बुलेन्समा राखी छोरीको शव भारत रक्सौलमा पुर्‍याई जलाउन लगाएका थिए । एक जनालाई ६ हजार रुपियाँ भुक्तानी दिएर शव जलाउन लगाएको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डा.गणेश रेग्मीले बताए ।

छरछिमेकले छोरीको बारेमा सोधपुछ गर्दा नेहा भारतमा फुपूको घर गएको वर्णवाल दम्पतीले बताउने गरेका थिए । धेरै दिनपछि पनि नेहा घर नफर्केपछि स्थानीयवासीले चैत १३ गते प्रहरीलाई नेहा नभएको कुरा सूचना दिँदै अनुसन्धान गर्न आग्रह गरेपछि प्रहरीले नेहाका आमाबावुलाई गिरफ्तार गरेको हो ।

नेहा सत्यनारायणको जेठी पत्नी मन्जुदेवी वर्णवालको छोरी हुन् । २०६० सालमा स्टोभ पड्की जली घाइते भएकी मन्जुको काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सत्यनारायणले बहुदरमाई नपा-७, भौराटार घर भएकी गितादेवीसँग २०६१ सालमा दोस्रो विवाह गरेका थिए ।

नेहा र उनका भाइ निरजकुमार वर्णवाल सत्यनारायणको जेठी पत्नी मन्जुका सन्तान हुन् । सत्यनारायणकी कान्छी पत्नी गीतादेवीको पनि दुई सन्तान छन् ।

प्रहरीका अनुसार गीताले सौतेनी छोरी नेहालाई दिनहुँ गालीगलौज र शारीरिक यातना दिने गरेकी थिइन् । उनैले दिएको यातानको कारण नेहाको हत्या भएको आरोपमा प्रहरीले सत्यनारायाण र गीतालाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।


केसी लामिछाने