छोरीको हत्या गरी बाबुद्वारा आत्महत्या

  ०७६ असोज ७ गते

गौरीगङ्गा नगरपालिका-५ का २५ वर्षीय रामबहादुर कलेलले असोज ५ गते राति तीन वर्षीया छोरीको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

गत वैशाख १६ गते उनकी पत्नी सरिता कलेल आत्महत्या गरेपछि सरिताका माइती पक्षले वैशाख १७ गते रामबहादुरविरूद्ध आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालतमा दर्ता गरेका थिए ।

गत जेठ २६ गते जिल्ला अदालतले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । साउन २२ गते अदालतको इजलासले निर्दोष ठहर गरेपछि उनि कारागारबाट छुटेका थिए ।

डेढ महिनापछि असोज ५ गते राति तीन वर्षीया छोरी अनुष्का कलेललाई सेल्फस नामक विषादी खुवाएर हत्या गरी त्यही विषादी आफूले पनि सेवन गरी आत्महत्या गरेको डिएसपी बस्नेतले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र बाबु छोरीको शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको बस्नेतले बताए ।


मैनामोती चौधरी