छोरा बुहारीले घर निकाला गरेकी बृद्धालाई इन्सेकको पहलमा पुनर्स्थापना

  ०७५ वैशाख २ गते

छोरा बुहारीले खान लाउन नदिई घरबाट निकाला गरेपछि पीडित भएकी ७० वर्षीया मुनी खत्रीलाई इन्सेकको पहलमा वैशाख २ गते पुनर्स्थापना गरिएको छ ।

शारदा नगरपालिका-६ मदमकाँडाको बाहुनचौर निवासी मुनी खत्रीलाई कान्छो छोरा खुमबहादुर खत्री र बुहारी पष्पा खत्रीले घर निकाला गरेको पीडित बृद्धाको आरोप छ ।

०७४ चैत २९ गते घरायसी झगडा भएपछि आमालाई गाली गलौज गर्दै घर निकाला गरेको पीडितले बताइन् । दुई छोरा र दुई छोरीकी आमा मुनी कान्छो छोरा खुमबहादुर खत्री र बुहारी पुष्पा खत्रीको साथमा बस्दै आएकी थिइन् । जेठो छोरा छुटि्टएर गएपछि कान्छो छोरासँगै बस्दै आएको बताउँदै उनले अहिले आफ्नो नाममा कुनै पनि सम्पत्तिसमेत नरहेको बताइन् ।

आफ्नो नाममा भएको सम्पत्तिसमेत कान्छो छोराले बेचेर खाइसकेको र अहिले आएर खान लाउन नदिएर घर निकाला गरेको पीडितकी नातिनी पर्ने सुनिता खत्रीले बताइन् । आफ्नै छोराले घरबाट निकालेपछि छिमेकीको घरमा आश्रय लिएर बसेको थाहा पाएपछि इन्सेक सल्यान र जिल्ला प्रहरी कार्यालयको समन्वयमा पीडितलाई पुनर्स्थापना गरिएको हो ।

घटनाको बारेमा इन्सेकले जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरत हादुर बिकलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय श्रीनगरबाट प्रहरी घटनास्थलमा पुगेर दुवै पक्षसँग छलफल गर्दा आगामी दिनमा यस्तो नगर्ने सहमति भएको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी