छोरा छोरीलाई उपचार अभावमा कटेरोमा थुनेर राख्न बाध्य वृद्ध आमा बुवा

  ०७६ माघ ६ गते

सन्तानको माया आमा बुबालाई कति हुन्छ भनेर वर्दिवास–८ हात्तिलेटका जेष्ठ नागरीक द्वय ७२ वर्षीय बादल बमजन र ७० वर्षीया धनमाया बमजनले आफ्ना पूर्ण अशक्त अपाङ्ग दुई छोराछोरीलाई वर्षौ देखि स्याहारसुसार गर्नु भएको देख्दा प्रमाणित हुन्छ ।

photo20190120mahottari (2)

पछिल्लो २० वर्ष देखि अशक्त अपाङ्ग दुई छोराछोरीलाई यी बृद्ध दम्पतीले कटेरोमा थुनेर राख्नु भएको छ र उनीहरुकै स्याहारसुसारमा आफ्नो जीवन खर्चीनु भएको छ । भोक, प्यास, निन्द्रा केहिको पनि ख्याल नगरी २० वर्षदेखि दुई छोराछोरीको सेवामा खटिनु भएका छन् यी वृद्ध दम्पती ।

छोरी सुकुमाया र छोरा मानबहादुरलाई उपचार गर्न नसकेपछि यी वृद्ध दम्पतीले दुई दशक बढि देखि कटेरोमा थुनेर राख्न भएको हो ।
धनमाया र बादलको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको लाउँलाउँ खाउँखाउँ उमेर मै मानसिक सन्तुलन गुमेपछि उहाँहरुको दुःखको दिन सुरु भयो । छोरीको उपचारको लागि हरसम्भव प्रयास गर्ने क्रममा धामी–झाक्री, अस्पताल, डाक्टर सबै गर्दा पनि छोरीलाई निको भएन, धनमायाले सुनाउनु भयो । उहाँले भन्नु भयो, ‘छोरीको उपचार मै भएको सबै सम्पत्ती सकियो । सिन्धुलीको रानीचुरीको घर, खेती, हल गोरु, बाख्रा सबै बिक्यो ।’

सबै थोक बेचेर पनि छोरी निको नभए पछि उहाँहरूले थातथलो छाडेर २० वर्षदेखि महोत्तरीको बर्दिवास–८ हात्तीलेटमा बसोबास गर्दै आउनु भएको छ । बादल बमजनले भन्नु हुन्छ, ‘सम्पत्ति पनि सकियो तर छोरी निको हुन सकेन अहिले छोरी सुकुमाया ४५ वर्ष पुगिसकेके छ । उपचार गर्न नसकेपछि उनलाई २० वर्षदेखि एउटा कटेरोमा कोचेर राखेको छु ।’

धनमायाले सुरु सुरुमा छोरीलाई बाँधेर राख्ने गरेको बताउँदै अहिले उसको हालत देखेर रुन मात्र आउँछ भन्दै आँसु खसाल्नु हुन्छ ।
त्यस्तै बादल र धनमायाको छोरा मान बहादुरको पनि निकै दयनीय हालत छ । छोरीको पीडाले सताएका यी दम्पतीलाई छोराको अवस्था समेत त्यस्तै भएपछि छोरालाई समेत कटेरो मै कोचेर राख्न बाध्य बनाएको छ ।

photo20190120mahottari (1)

छोरा मानबहादुर जन्मिँदा बोल्न नसक्ने मात्र थिए । अन्य शारीरिक अवस्था ठीक थियो  तर मान बहादुर पनि १२ वर्ष भएपछि हिँड्न नसक्ने भयो । धनमायाले भन्नु भयो, ‘त्यतिबेलासम्म बोल्न नसके पनि अरु काम सबै आफै गर्थे । अनि विरामी भएपछि खर्च नहुँदा कतै उपचार गराउन सकिएन, अनि अहिले यो हालतमा छ ।’

अहिले मानबहादुर ३० वर्षको हुनु भयो । उहाँ बिरामी भएपछि उपचार गर्ने पैसा नहुँदा डाक्टरको मुख समेत देखाउन सकेनन् ती दम्पतीले । अहिले छोरो कम्तीमा ठीक भएको भए अलि अलि कमाई गर्थे अनि परिवार चलाउन सजिलो हुने सपना सबै सपना नै भयो, बादलले दुःखेसो सुनाउनु भयो ।

उहाँले सम्पत्ति सकिएपछि छोरी ठीक हुने आशामा सात पटकसम्म ठाउँ सर्दै बसेको सुनाउनु भयो । बादलले भन्नु भयो, ‘अहिले बाँसको झिक्रा भिक्रीको टाँट लगाएको सानो झुपडी र छेउमा दुई असक्त बिरामी छोराछोरीलाई राख्ने कटेरा अहिले आफुहरूको सम्पत्ति हो ।’
धनमायाले भन्नु भयो, ‘राती राती उठेर टर्च लिएर यिनीहरूको सेवा गर्छु, आमा हुँ, कसरी मर्न दिउँ ? मर्न दिन सक्दिनँ तर उपचार पनि गर्न सक्दिन ।’

माघ महिनाको शित लहरको चिसोमा धनमायाले कटेरामा कोचिएका दुई सन्तान सुकुमाया र मानबहादुरलाई आफ्नै सारीले भएपनि ओढाएर राख्नु भएको छ । यिनिहरुकै स्याहारसुसारमा दिन जाने भएकोले खान धौधौ भएको अवस्थामा लाउने, खाने, ओढ्ने, ओछ्याउनेको समेत अभाव रहेको जेष्ठ नागरीक द्वय धनमाया र बादलले बताउनु भयो । धनमायाले भन्नु भयो , ‘दुई सन्तानले उपचार पाएर आफ्नो ख्याल आफै गर्न सक्ने भए त्यो भन्दा खुशी आफूलाई अरु केही हुँदैन ।’

photo20190120mahottari (3)

यस्तो दुःख कष्टपूर्ण जिवन र आफ्नो पारिवारिक अवस्था सबैले देखेको भए पनि कहिँ कतैबाट केहि सहयोग नपाएको उहाँहरुको गुनासो छ ।
दुवै सन्तान पूर्ण असक्त अपाङ्गता भएपनि अपाङ्गता परिचय पत्र अहिलेसम्म उहाँहरूले बनाउन सक्नु भएको छैन । पशु झैं दुई सन्तान कटेरामा राखेर पाल्दा समेत स्थानीय सरकारले नदेखेझै गरेको दम्पत्तीको गुनासो छ ।

समाजिक अभियन्ता निल बहादुर लुम्रेले उहाँहरूको उपचारको व्यवस्था मिलाउन र सहयोग गर्न स्थानीय सरकार चुकेको आरोप लगाउनु भएको छ । उहाँले जेष्ठ नागरीक दम्पतीको आर्थिक अवस्था कमजोर भएकोले पशुको झैं जीवन बाँच्न बाध्य उहाँहरुको सन्तान सुकुमाया र मानबहादुरको स्थानीय सरकारले उद्धार गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । वर्षौ देखि गोठमा थुनेर राखेकाले उहाँहरूलाई संरक्षरण गर्न उपचार पहिलो आवश्यकता भएको लुम्रेले बताउनु भयो ।

वडा–८ का वडाध्यक्ष शमशेरसिंह थिङले वडामा त्यसको लागि बजेट नभएकाले नगरले दिने न्यानो समेत अहिले दिन नसकिएको स्वीकार गर्नु भयो । वडा अध्यक्ष थिङ्ले गत पुसमा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सहितको टोलि लगेर नागरिकता बनाइदिएको र आफूले उनीहरूको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिरहेको जनाउनु भयो ।

वृद्ध दम्पतीले नागरीक समाज, मानव अधिकारकर्मी र संचारकर्मीहरुसँग छोराछोरीको उपचारमा सहयोग जुटाउनको लागि पहल गरि दिनु हुन अनुरोध गर्नु भएको छ ।

 


अजयकुमार साह