छोराछोरीको हत्या आरोपित महिलाविरूद्ध उजुरी दर्ता

  ०७६ असार २६ गते

१२ वर्षीय मो. तरिक सिक, तीन वर्षीय आसिलम सिक र दुई वर्षीया आजमिन खातुनको हत्या गरेको आरोपमा २९ वर्षीया आमा रूक्साना खातुनविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २४ गते उजुरी दर्ता गरेको छ ।

आरोपितकी सासू गोलबजार नपा-९ की ७० वर्षीया जलेश्वर खातुनले दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए ।

हनुमाननगर कङ्कालिनी नपा-१ स्थित सप्तकोशी नदीको पानीमा असार २० गते राति आरोपितले पालैपालो तीन छोरा र एक छोरीलाई फालेर आफू पनि हाम्फालेर आत्महत्याको प्रयास गरेकी थिइन् ।

नदीको पानीले किनारा लाएर असार २० गते राति नै माइला छोरा पाँच वर्षीय तहसिल बचे भने नदीले बगाएर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई झ्याङ्गमा अडकिएको अवस्थामा कोशी नदीमा काम गर्ने कन्ट्रक्सनका मजदुरहरूले असार २१ गते उद्दार गरी बचाए ।

आरोपितको उपचार भारदहस्थित अस्पताल र कञ्चनरूप ठेलियास्थित धर्मेश्वर अस्पतालमा भयो । खोजी कार्यमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालित भए पनि पानीको बहाव उच्च रहेकाले प्रहरी र स्थानियबासीले अन्य तीन बालबालिकालाई फेला पार्न सकेनन् ।


मनोहरकुमार पोखरेल