छुवाछुत घटनाका आरोपितलाई कारवाहीको माग

  ०७६ कात्तिक १ गते

होलटमा चिया पिउन जाँदा भएको छुवाछुतको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै  अधिकारकर्मीहरुले कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् ।

चिया खान होटलमा गएको समयमा गत असोज २० गते जातीय विभेदको घटनामा पीडित बनेका पथरी शनिश्चरे नगरपालिका ४ का ६० वर्षीय डिमोन कामीको मुद्दा कमजोर बनाउन प्रहरीले गिरफ्तार गरेर झुठो मुद्दा लगाएको भन्दै अधिकारकर्मीहरुले कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

होटलमा चिया पिउन गएको समयमा पथरी शनिश्चरे नपा ४ का ६५ वर्षीय रुद्रबहादुर कटुवाल र होटल सञ्चालक ४५ वर्षीय टलकबहादुर पाण्डेले दलित भएकाले बाहिर निकालेको पीडितको आरोप छ ।

असोज २७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितद्वयलाई प्रहरीले असोज २९ गते गिरफ्तार गरेको थियो ।

तर, होटल सञ्चालक पक्षबाट नियोजित रुपमा मुद्दा कमजोर बनाउन असोज २९ गते अभद्र ब्यवहारमा पीडितविरुद्ध उजुरी दर्ता गरिएको र प्रहरीले असोज ३० गते डिमोनीलाई गिरफ्तार गरेकोले तत्काल डिमोनीलाई रिया गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

संघर्ष समिति बनाएरै आन्दोलन सुरु गरिरहेको र पीडितलाई रिहाई गरेर दोषीलाई गिरफ्तार नगरेमा संघर्ष अझै कडा बनाउन बाध्य हुने दलित गैरसरकारी संस्था महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्रीले चेतावनी दिए ।

पथरी शनिश्चरे नगरपालिका न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मले योजना बनाएर जातीय विभेदको मुद्दा कमजोर बनाउन प्रहरी लागेको आरोप लगाए ।

न्यायिक समितिमा उजुरी आएपछि आफैँले इलाका प्रहरी कार्यालय गएर घटनाबारे जानकारी गराएको भएपनि अहिले मुद्धा कमजोर बनाउन आरोप लगाएकोले न्यायका लागि लागेको बताए ।

सहायक सिडिओ सुरेश सुनारले पीडितलाई झुठो मुद्दा लगाएर झन् पीडित बनाएको पाइएमा सबैलाई कानुनी कारवाही हुने बताए ।


इन्दिरा भट्टराई