छुवाछुतको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७४ वैशाख २९ गते

छुवाछुतको आरोपमा मिर्चैया नपा ९ की २३ वर्षीया शोभा बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ४२ वर्षीया लिलामाया तामाङलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई वैशाख २४ गते बिहान सार्वजनिक कलमा पानी भर्न जाँदा आरोपितले 'परै बस पानी छोइन्छ' भनेको र सो को प्रतिवाद गर्न खोज्दा बढी मुख मुखै लाग्छेस भनी कुटपिट गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

सो विषयमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २७ गते उजुरी दिएको थियो । आरोपितले मलाई कुटपिट गर्न थालेपछि स्थानीयहरूले झगडा मिलाइ दिएर गाउँमै छलफलबाट मिल्न भने पनि पहिला पनि यस्ते घटना भइसकेकाले कारबाहीका लागि उजुरी दिएको पीडित महिलाले बताइन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्रचार्यका अनुसार जातीय भेदभावको घटना भने पनि झैझगडा भएको देखिएकोले अनुसन्धानको लागि आरोपितलाई गिरफ्तार गरिएको हो ।

वैशाख २९ गते मानव अधिकार संरक्षण केन्द्र सञ्जालले घटनाको अनुगमन गरेको छ । सञ्जालका पुर्व संयोजक सुनिलकुमार साहले नेपालको संविधानबाट जातीय भेदभाव हटिसकेको भए पनि पानी छोइन्छ भनी दलितलाई कुटपिट गर्नु निन्दनीय भएकोले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन ।


दुर्गा परियार