छुट कार्यान्वयनको निर्णय नमानेको भन्दैं इन्सेकमा उजुरी

   ०७६ फागुन ३० गते

अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा पाउन सकेका छैनन् ।

फागुन १५ गते बुटवलदेखि बागलुङ आउँदै गर्दा ना.७ ख. २९२८ नम्बरको बसले आफूलाई ऐनमा व्यवस्था भएअनुसार छुट नदिएको भन्दैं बागलुङ बहिरा संघका अध्यक्ष नलबहादुर थापाले फागुन २२ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनुभएको थियो ।

उहाँको उजुरी पछि जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैंजुको अध्यक्षतामा बसेको बैठकले ऐनमा व्यवस्था भए अनुसारको छुट उपलब्ध गराउन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएको थियो ।

जिल्ला प्रशसान कार्यालय, यातायात व्यवस्था कार्यालयका पदाधिकारी र बहिरा संघ बागलुङका पदाधिकारी बीच बैठक बसेर अपाङ्गता भएका, जेष्ठ नागरिक र एकल महिलालाई छुट सुविधा उपलब्ध गराउने निर्णय गरिएपनि कार्यान्वयनमा नआएको भन्दैं धवलागिरी बहिरा आवासिय विद्यालयका सहायक प्रधानध्यापक सन्तोष पौडेलले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङमा फागुन ३० गते निवेदन दिनुभएको छ ।

प्रशासनमा निर्णय गरिएको तीन दिन नबित्दै आफूलाई समस्या दोहोरिएको भन्दै ऐनमा भएको व्यवस्था कार्यान्वयनमा ल्याउन सहयोग गरिदिन निवेदनमा माग गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा यात्रा गर्दा छुट नदिने मात्र होइन हेला र उपेक्षा गरिने उहाँले बताउनुभयो ।

फागुन २४ गते मनकामना दर्शन गरेर फर्कदा मुग्लिन देखि बागलुङ आउने बस चढेको थिए सन्तोषले भन्नुभयो, ‘छुट माग्दा गाली गरेर ४ सय ५० रुपियाँ भाडा लिए ।’ बसको नम्बर मलाई याद छैन, तर यो एकपटकको अनुभव होइन सन्तोषले भन्नुभयो ‘हामिलाई हरेक पटक उपेक्षा गरिन्छ ।’

सार्वजनिक यातायातमा छुट नपाएको, अपमानजन व्यवहार गरिएको भन्दैं सन्तोषले पटक पटक जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि सामान्य मिलापत्रमा छोडिदा ऐनमा भएको व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालयमा उजुरी आएपछि ट्राफिक, धौलागिरी गण्डकी यातायात प्रा.लि का पदाधिकारी र बहिराहरुको उपस्थितीमा छुट व्यवस्था कार्यान्वयन गर्ने गरि सहमति भएको हो, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैंजुले भन्नुभयो ‘नियममा भएको कुरा दिदैनौ गर्दैनौ भन्न मिल्दैन उहाँहरुले कार्यान्वयन गर्नै पर्छ ।’

समितिमा भएको व्यक्तिले कर्मचारीलाई जानकारी नगराउँदा समस्या आएको हुनसक्छ उहाँले भन्नुभयो यो विषयमा उहाँहरुसँग फेरी छलफल गरिन्छ ।

अपाङ्ग संरक्षण तथा कल्याण ऐन अनुसार कुनै पनि अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाइजहाजबाट यात्रा गर्दा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था भएपनि यसको कार्यान्वयन भएको पाईँदैन ।

Photo20200313Baglung2

photo20200313Baglung1


सिर्जना पन्त