छुटेका द्वन्द्वपीडितको उजुरी पुनःलिइने - अध्यक्ष गुरुङ

  ०७४ असार ७ गते

सत्यनिरुपण तथा मेलमिलाप आयोग नेपालका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको उजुरी पुनःलिइने बताएका छन् ।

आयोगको प्रदेश नं ४ मुकाम कार्यालयको कास्कीमा असार ७ गते उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका कतिपय पीडित छुटेका हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगत्तै उजुरी लिने गरी आयोगले तयारी गरेको बताएको राससले जनाएको छ ।

आयोगमा हालसम्म ५८ हजार ५२ वटा उजुरी दर्ता भएको जानकारी दिँदै उनले प्रदेश नं १ मा ६ हजार २ सय ९९, प्रदेश नं २ मा ३ हजार ७ सय ५९, प्रदेश नं ३ मा ३ हजार ९ सय २१, प्रदेश नं ४ मा ३ हजार ६ सय ३६, प्रदेश नं ५ मा १६ हजार ३ सय ४०, प्रदेश नं ६ मा १० हजार ३ सय ६ र प्रदेश नं ७ मा १० हजार २ सय १६ एवम् आयोगको कार्यालयमा ३ हजार ५ सय ८४ ओटा उजुरी दर्ता भएको बताए ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै छुटेका पीडितको पुनःउजुरी लिने सूचना प्रकाशित गर्ने आयोगले तयारी गरेको बताउँदै उनले भने-‘वास्तविक पीडितलाई राहत र दोषी व्यक्तिलाई कारबाहीका लागि सिफारिस र आयोगमा परेका उजुरीलाई प्रदेशस्तरमा अनुसन्धान टोलीको सिफारिसका आधारमा आहतमा परेकालाई राहत दिइनेछ, त्यसका साथै दुवै पक्षलाई मेलमिलाप कसरी गर्ने भन्ने सोचका साथ काम अघि बढाइएको छ ।‘


अनलाइन डेस्क