छिटोछरितो न्याय दिन समस्या भएको न्यायिक समितिका संयोजकहरूको गुनासो

  ०७६ साउन २२ गते

उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय तहबाट प्रदान गरिँदै आएको न्यायिक समितिको न्याय सम्पादन झञ्झटिलो र पीडितमूखी हुन नसकेको न्यायिक समितिका संयोजक तथा सदस्यहरूको गुनासो रहेको छ ।

कर्मचारीको अभाव, कानुनी ज्ञानको कमी र आवश्यक भौतिक संरचना अभावका कारण न्याय सम्पादन कार्य प्रभावकारी हुन नसकेको स्थानीय न्यायिक समितिका पदाधिकारीहरूको विश्लेषण रहेको छ ।

न्यायिक समितिमा दर्ता भएका उजुरीहरूमा अदालती शैलीमा काम गर्नु पर्ने भएता पनि कर्मचारी र इजलास नभएकोले समस्यामा परेको न्यायिक समिति संयोजकहरूले बताउने गरेका छन् ।

चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवर इजलास कक्ष नभएकोले पीडितको गोपनियता नहुनेमा डर लाग्ने गरेको बताइन् ।

उनले भनिन्-'कार्यकक्षमै उजुरीका बारेमा लेखपढ, छलफल गर्नु पर्ने बाध्यता छ । सेवाग्राहीलाई सोझै कार्यकक्षमै बोलाउँदा उनीहरूको गोपनीयता कायम गर्न समस्या भएको छ । काम सहज रूपमा गर्न सकिएको छैन ।'

उजुरी समेत नलेखेर आफ्ना समस्या ल्याएर सिधै आउने भएकोले कतिपयको उजुरी समेत आफैँले लेख्नु परेको कमलबजार गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भूमीशरण बजगाईँको भनाई छ ।

'कर्मचारी अभावमा कतिबेला आफैँले फैसला समेत लेख्नु पर्ने हुन्छ ।'-रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउदले कानुनी ज्ञानको कमी, कर्मचारीको अभाव, कानुनी सल्लाहकार राख्न गाउँपालिकासँग आर्थिक अभावलगायतले न्याय निरूपणमा समस्या भएको बताइन् ।

'हामी राजनीतिबाट आयौँ । यहाँ अदालतको जस्तो काम दिइएको छ ।'-साउदले थपिन्-'कर्मचारी नहुँदा उजुरी दर्ता त आफैँ गर्नुपर्छ भने सहज र छिटो न्याय कसरी हुन्छ ?'

'घर भाडामै भएपनि अब इजलास बनाएर मुद्दाको काम गर्छौँ ।'-न्यायिक समितिको काममा संलग्न मङ्गलसेन नगरपालिकाका खरिदार नरेशबहादुर कठायतले भने ।

न्यायिक समितिमा आएका केही उजुरीमा नगर/गाउँपालिका प्रमुख वा कार्यपालिका सदस्यले सहजिकरण गरेमा मुद्दामा सहजता हुने भएपनि उनीहरू बेवास्ता गर्ने गरेको कतिपय न्यायिक समितिका संयोजकहरूको अरोप छ ।

चार नगरपालिका र ६ गाउँपालिका रहेको अछाम जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिमा उजुरीको सङ्ख्या बढदै जानुले पनि न्याय सम्पादनमा समस्या हुने गरेको न्यायिक समितिका संयोजकहरूले बताएका छन् ।


शिवराज ढुङ्गाना