छात्रामैत्री शौचालय नहुँदा पढाइ प्रभावित भएको गुनासो

  ०७६ साउन २२ गते

विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा आफूहरूको पढाइ प्रभावित भएको छात्राहरूले गुनासो गरेका छन् ।

छात्रामैत्री शौचालय नहुँदा महिनावारी भएका बेला चार दिन विद्यालय जान नपाएकाले पढाइ प्रभावित भएको छात्राहरूले गुनासो गरेका हुन् ।

जिल्लाका रहेका ३ सय ५७ सामुदायिक विद्यालय र चार क्याम्पसहरू मध्ये केहीमा मात्र छात्रामैत्री शौचालय छन् ।

तर, तिनीहरू पनि पानीको अभावका कारण प्रयोगमा आउन नसकेको जिल्ला बाल सञ्जालका अध्यक्ष सञ्जय ओझाले बताए ।

शैक्षिक सत्र ०७५ को तथ्याङ्क अनुसार जिल्लामा सामुदायिक विद्यालयमा ३८ हजार ३ सय ४४ जना विद्यार्थी छन्, जसमध्ये २० हजार बढी छात्राहरू छन् ।

पछिल्लो समय महिनावारी हुँदा विद्यालय पठाउनु हुँदैन भन्ने सोचमा परिवर्तन आएपनि महिनावारी भएका बेला शौचालयको सहज प्रयोग तथा उपलब्धता नहुने कारण छात्राहरूको उपस्थिति दरसमेत कम भएको शिक्षा तथा समन्वय एकाई सङ्खुवासभाका प्रमुख केशव भट्टराईले बताए ।

महिनावारी भएका बेला बढी सरसफाई गर्नुपर्ने र सेनेटरी प्याडको समेत आवश्यकता पर्ने भएपनि अहिले जिल्लामा पानीको अभावका कारण भएका शौचालय समेत प्रयोगमा आउन नसक्दा विद्यालयमा अध्यनरत छात्राहरूका साथसाथै आफूहरूसमेत समस्यामा पर्ने गरेको सरस्वती माध्यमिक विद्यालय चैनपुरकी शिक्षिका अनुसार कटुवालको भनाई छ ।

महिनामा चार दिन अनुपस्थित हुने भएकाले उनीहरूको पढाइ प्रभावित हुने गरेको बरुण बहुमुखी क्याम्पस खाँदबारीकी सहायक क्याम्पस प्रमुख चित्ररेखा अधिकारीले बताइन् ।

बाल सञ्जाल र बाल क्लवमार्फत सङ्गठित भएका किशोरीहरू, विभिन्न विद्यार्थी सङ्गठनमा आवद्ध भएका क्याम्पसका छात्रा विद्यार्थीहरूले सरोवारवाला निकायसँग जिल्लामा रहेका प्रत्येक आधारभूत, माध्यमिक र क्याम्पसहरूमा सेनेटरी प्याडसहित पानीको उपलब्धता भएको छात्रामैत्री शौचालयको माग गरेका छन् ।


बाबुराम बास्तोला