छाक टार्नै मुस्किल छ महर बस्तीमा !

  ०७६ मङ्सिर २२ गते

दोगडाकेदार गाउँपालिकाको मुख्य बजार खोचलेकबाट करिब ५ किलोमिटर टाढा गाउँपालिकाको वडा नं. ४ मा खम्तोला बस्ती छ ।

सडकछेउमै रहेको यो बस्तीमा दलित समुदायका आठ परिवारको मात्र बसोबास छ । शनिबारको दिन अपराह्नतिर खम्तोलामा ८–९ जना बालबालिका जङ्गलबाट दौडेर आउँदै थिए ।

काँधमा कुटो, कोदालो बोकेका उनीहरू तरूल खनेर आएका थिए । खाद्यान्न उत्पादन गर्ने जमीन नहुँदा यहाँका बालबालिका शनिबार र अन्य बिदाको दिन खानेकुरा खोज्न जङ्गल पस्छन् ।

तरूललगायत जङ्गली फल (कन्दमूल) ल्याएर छाक टार्नुपर्ने उनीहरूको बाध्यता छ । नेपालको संविधानले सुनिश्चित गरेका सबै मौलिक हकहरू त परै जाउन् महर समुदायले गास, बास र कपासको न्युनतम सुविधा समेत उपभोग गर्न सकेका छैनन् ।

‘खेती गर्ने जमीन नहुँदा विद्यालय बिदा भएको दिन बालबालिकाले पनि जङ्गलबाट खानेकुराहरू ल्याउँछनर ।’–स्थानीय शेरेराम महरले भन्नुभयो–‘अलि ठूलो हुनासाथ भारततर्फ मजदुरी गर्न हिँड्छन् । कतिपय दिन त उनीहरू विद्यालयसमेत जान पाउँदैनन् ।’

पानी पर्दा चुहिने र घाम पनि राम्रोसँग नछेक्ने महर बस्तीका घरहरूको विशेषता छ । तर, कमाइ खाने जग्गा भने छैन ।

जमीन नभएका उनीहरू अरूकै काम गरेर जीवन निर्वाह गरिरहेका छन् । आरन, सिलाइ–कटाइ, फर्निचरको काम गरी आठ जनाको परिवार पाल्दै आएका ३९ वर्षीय रामिराम महरले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हाम्रो जग्गा जमीन छैन । डेरामा बसे जस्तै हो । घरबाहेक केही छैन । अरूकै काम गरेर खाने हो । सागसब्जी लगाउने जमीन पनि छैन ।’

बाजेहरू कहाँबाट आएर बसेका हुन् भन्नेसमेत थाहा नपाएको उहाँले बताउनुभयो । पछि आफूहरूको आर्थिक अवस्थाले अन्त गएर जमीन किनेर बस्न नसकिने हुँदा गुजाराको जिन्दगी बिताइरहेको उहाँको भनाइ छ ।

रमिराम भन्नुहुन्छ–‘अरूकै ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने परिवार हौँ । काम पाए पैसा आयो, नत्र भने छाक टार्नै मुस्किल हुन्छ ।’

हालसम्म जग्गा पाउने आशैआशमा वर्षौँ बिताएको उनीहरूको भनाइ छ । स्थानीय सरकारले पनि आफूहरूका समस्यामा कुनै वास्ता नगरेकामा उनीहरूको दुखेसो छ ।

निर्वाचनका बेला मात्र आफ्नो टोलमा नेताहरू देख्न पाइने यहाँका स्थानीयले बताए । ‘चुनावका बेला जमीन दिने, घर बनाइदिने नेताहरूले आश देखाउँछन् ।’–रमिरामले भने–‘जितिसकेपछि कसैले फर्केर हेर्दैनन् ।’

तरकारी लगाउने बारीसमेत नभएको दुःखेसो बिसाउँदै २४ वर्षीय हीरा महरले बालबच्चालाई पढाउनसमेत मुस्किल पर्ने बताउनुभयो ।

‘श्रीमान् एक्लैले अरूको काम गरी परिवार पाल्नुपर्छ ।’–उहाँले भन्नुभयो । काम गरेको ज्याला र खलो लिएर पनि आफूहरूको गुजारा चलेको मानमति महर बताउँनुहुन्छ । पतिले फलामका कुटो, हँसिया बनाएबापत अन्य समुदायले खलो, पैसा दिने गरेको उनले सुनाइन् ।

‘पहिरोको जोखिममासमेत रहेको उक्त बस्तीको तलबाट भिरालो जमीन भएकाले बर्खामा त्रास हुन्छ । ठूलो वर्षा हुँदा बगाउँछ कि भन्ने पीर लाग्छ ।’–उनीहरूको भनाइ छ ।

पानीको पाइप ठाउँठाउँमा टुटेकोले खानेपानी अभाव उस्तै छ । जमीनविहीन आफूहरूको समस्या समाधान गरिदिन महर बस्तीको माग छ ।

महर बस्तीमा समस्या रहेको र यसको समाधानका लागि आफूहरूले योजना बनाउने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।


नरी बडु