छाउ गोठ मुक्त तथा साक्षर नगर घोषणा

  ०७६ माघ २८ गते

कमलबजार नगरपालिकामा रहेका सम्पुर्ण छाउ गोठ भत्काएर सो नगरपालिकालाई माघ २७ गते एक कार्यक्रमकाबीच छाउ गोठ मुक्त तथा साक्षर नगर घोषणा गरिएको छ ।

नगरपालिकामा रहेका  ३ सय ८० ओटा भन्दाबढी छाउ गोठ भत्काएर महिनावारी हुने महिला तथा किशोरी सुरक्षित घरमै बस्न थालेपछि अछाम निर्वाचन क्षेत्र नम्बर  २ बाट प्रतिनिधि सभाका सदस्यमा बिजय हुनु भएका यज्ञबहादुर बोगटीले छाउ गोठ मुक्त नगर घोषणा गर्नु भएको हो ।

कमलबजार नगरपालिका–८ का किशोरी मनिसा विष्ट छाउ गोठ भत्काएर घरमै बस्न थालेपछि महिलाको ज्यान जोगिएको बताउनु हुन्छ ।

उहाँले भन्नु भयो–“छाउगोठ भत्काएर धेरै आमा, दिदी÷बहिनीको ज्यान बचेको छ । यसमा धेरै खुसी लागेको छ ।”

छाउ गोठ मुक्त नगर घोषणा कार्यक्रमा  सहभागि हुनु भएका सोही नगरपालिका–९ निवासी देउताका धामी प्रेमप्रसाद जैसीले सरकारको नीति र कानुन धामी झाक्रीले स्विकार गरेको बताउनु भयो ।

छाउ गोठा मुक्त नगर घोषणा गर्ने क्रममा प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले छाउगोठ मुक्त नगर क्षेत्रका बासिन्दाहरूमा समाजिक हिंसा तथा विभेदको अन्त्यका लागि सकारात्मक परिवर्तन आएको बताउँदै छाउगोठ अन्त्यसँगै समाजमा रहेका अन्य कुरीति र विभेदलाई अन्त्य गर्न सक्रियताका साथ अगाडी बढन अनुरोध गर्नु भएको थियो ।

नगर क्षेत्रमा रहेका सबै छाउगोठ भत्काइएकोले कुनै महिला छाउगोठमा बसे वा बसाएमा कानुनी कार्वाही र नगरका सेवा रोक्का हुने नगर प्रमुख ओमप्रकाश विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो –“हरेक स्थानमा अनुगमन टोली खटाएर छाउगोठ बसेको पाइएमा कानुनी कार्वाही र नगरबाट पाइने भत्ता, सिफारिस लगायत सबै रोकिने छ ।”

धामीझाँक्रीको सहयोगमा जनप्रतिनिधि, प्रहरी, महिला र बाल क्लब र स्थानीय अगुवाको सक्रियतामा छाउगोठ मुक्त बनाउन सहज भएको नगरका प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर विष्टले बताउनु भयो ।

अछामका १० ओटै स्थानीय तहमा जनप्रतिनिधिको अगुवाइमा अघिल्लो महिना पुस ९ गतेबाट छाउगोठ भत्काउने अभियान जिल्लाभर चलिरहेको छ । हालसम्म अछाममा झण्डै ५ हजार छाउगोठ भत्काइएको प्रहरी कार्यालय अछामका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताउनु भयो ।

कमलबजार नगरपालिका क्षेत्रमा १५ देखि ६० वर्ष उमेरका महिला तथा पुरुषमा ९८ दशमलव भन्दा बढी साक्षरता भएको प्रमाणित गरिएपछि साक्षर नगर घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत विष्टले बताउनु भयो ।

दश स्थानीय तहमध्ये यसअघि अछामका ६ ओटा स्थानीय तह साक्षर घोषणा भइसकेका छन् ।

photo20200211achham (1) photo20200211achham (2) photo20200211achham (3) photo20200211achham (4) photo20200211achham (5)

 


शिवराज ढुंगाना