छठीमाताको मूर्ति हटाउने विषयमा झडप हुँदा १७ जना घाइते

  ०७६ कात्तिक २२ गते

कलैया उमनपा–१५ बकुलहर गाउँमा कात्तिक २१ गते बिहान २ बजे जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जित सिंह राठौरको कमाण्डमा रहेको टोलीले छठीमाताको मूर्ति नेपाल प्रहरीको गाडीमा लोड गरेपछि स्थानीयले छठी माताको मूर्ति प्रहरीलाई लैजान नदिएपछि झडप हुँदा १७ जना घाइते भएका छन् ।

प्रहरीले घरको आँगनमा बसेका महिलाहरुलाई समेत लाठी प्रहार गरेको स्थानीयको आरोप छ । प्रहरीको लाठी चार्जबाट स्थानीय ७० वर्षीया सोनीया देवीको निधार, दायाँ र बायाँ तिघ्रामा चोट लागेको छ ।

३२ वर्षीया बबिता देवीको टाउको पछाडिको भागमा चोट लागेको छ । २० वर्षीय नगेन्द्र भनिने सुवाश सहनीको दायाँ कोख, दायाँ पिडौँलामा चोट लागेको छ ।

४३ वर्षीया सियापती देवीको बायाँ पाखुरामा चोट लागेको छ । ६० वर्षीय हरिहर सहनीको बायाँ आँखा र निधारमा चोट लागेको छ ।

त्यस्तै ६० वर्षीय ठागा सहनीको दायाँ तिघ्रा र बायाँ कम्मरमा चोट लागेको छ । १९ वर्षीय विशाल सहनीको बायाँ गोडाको बुढी औँलामा चोट लागेको छ ।

१८ वर्षीय अबध सहनीको दायाँ गोडाको पिडौँला र तिघ्रामा चोट लागेको छ । ठगा सहनीका छोरा कक्षा चारमा अध्ययनरत १० वर्षीय राजन सहनीको ढाडमा चोट लागेको छ । २५ वर्षीय वीरेन्द्र सहनीको बायाँ घुँडामा प्रहरीले हानेको ढुङ्गा लागेर चोट लागेको उनले आरोप लगाए ।

घाइते उनीहरूको उपचार कलैया अस्पतालमा गरिएको छ । घाइतेमध्ये ३५ वर्षीया कविता देवीको उपचार वीरगञ्जमा भइरहेको छ । झडपका क्रममा प्रदशनकारीहरुले प्रहार गरेको ढुङ्गामूढाबाट इन्स्पेक्टर रुद्रबहादुर शाही, हवल्दार श्रीभगवान साह, शसिकान्त चौधरी, प्रहरी जवान पप्पु राउत कुर्मी, राजाराम महतो र रोलेश चौधरीलाई सामान्य चोटपटक लागेकोमा उनीहरूको उपचार कलैया अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका असई वीरेन्द्र ठाकुरले बताए ।

स्थितिलाई नियन्त्रणमा लिएर थप क्षति हुनबाट बचाउन सात राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विकासराज खनालले बताए ।

छठ पर्व सकिनेबित्तिकै छठी माताको मूर्ति हटाउन भएको सहमति अनुसार स्थानीयले मुर्ति नहटाएकाले नेपाल प्रहरीले हटाउन लाग्दा झडप भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।


भोलानाथ पौडेल