चौरजहारी नगरपालिकाले बनायो १३ वटा कानुन

  ०७५ जेठ २ गते

चौरजहारी नगरपालिकाले न्यायिक निरूपण सम्बन्धमा न्यायिक समितिले उजुरी किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि, बाल संरक्षण नीति कार्यविधि र बाल विवाह न्यूनीकरण रणनीति योजनालगायतका विभिन्न १३ वटा कानुन पारित गरेको छ ।

नगरपालिकाको जेठ १ गते बसेको तेस्रो नगर सभाले कानुन पारित गरेको नगर प्रमुख विशाल शर्माले जानकारी दिए । स्थानीय तहको निर्वाचन भएको एक वर्षको अवधिमा यी सहित यस नगरपालिकाले ३० वटा कानुन निर्माण गरिसकेको नगरप्रमुख शर्माले जानकारी दिए ।

तेस्रो नगर सभाबाट पास भएका अन्य विधेयकमा स्थानीय राजपत्रसम्बन्धी कार्यविधि, चौरजहारी नगरपालिकाको प्रशासकीय कार्यविधि, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन र व्यवस्थापन कार्यविधि, 'घ' वर्गको निर्माण व्यवसायी इजाजत पत्र कार्यविधि रहेका छन् ।

त्यस्तै करार कर्मचारीको सेवा सुविधा मापदण्डसम्बन्धी कार्यविधि, एकीकृत सम्पति कर व्यवस्थापनसम्बन्धी कार्यविधि, स्थानीय उर्जा विकाससम्बन्धी निर्देशिका, चौरजहारी नगरपालिकाले विभिन्न पदको स्थायी दरबन्दी र करार सेवामा पदपूर्तिको लागि सञ्चालन गरिने परीक्षामा खटिने कर्मचारीको सेवा सुविधा कार्यविधि, बालकोष सञ्चालन कार्यविधि, बाल क्लब र सञ्जाल गठन तथा सहजीकरण निर्देशिका कार्यविधि रहेका छन् ।

सबै विधेयकहरू १५ दिनभित्र स्थानीय राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन हुने नगर प्रमुख शर्माले जानकारी दिए । यी बाहेक कामको सिलसिलामा आवश्यक पर्ने अन्य थप कानुन निर्माण गर्दै कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।


मनिषा के सी