चौधबिस भेगका ४५ प्रतिशत महिला घरमै सुत्केरी हुन्छन् !

  ०७६ साउन १५ गते

जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने चौधबिस भेग अर्थात पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अहिले पनि घरमै सुत्केरी हुने गरेका छन् ।

 

अन्धविश्वास, रूढिवादी मानसिकता, गरिबी, जनचेतनाको अभाव र मोटरबाटोको पहुँच नहुँदा ठुलो सङ्ख्यामा रहेका गर्भवती महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् ।

 

चेतनाको अभाव र गरिबी तथा रूढिवादी मानसिकताका कारण गर्भवती महिला स्वास्थ्य संस्थासम्म आएर प्रसूति हुने सङ्ख्या कम रहेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए । पातारासी गाउँपालिकाको स्वास्थ्य शाखाले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

 

ग्रामीण क्षेत्रका महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने र स्वास्थ संस्थासम्म लैजाने बाटोको समेत समस्या भएका कारण सहसंयोजक बुढाथापाले बताए ।

 

घरमा सुत्केरी हुनेको सङ्ख्या बढी भएकाले यस दरलाई घटाउन गाउँपालिकाले अभियान सुरू गरेको जनाएको छ ।

 

गाउँपालिका अन्तर्गत रहेका चारओटा स्वास्थ्य संस्थामध्ये दुई ओटामा बर्थिङ् सेन्टर सञ्चालनमा रहेको र बाँकीमा यसै साउन महिनादेखि सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

 

बोहोराका अनुसार पट्मारा र पातारासी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

 

गाउँपलिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्यूदरलाई शून्य बनाउने अभियानको सुरूवात गरेको छ । जसअनुसार स्वास्थ्य संस्थामा गएर सुत्केरी भए गाउँपालिकाले ३ हजार रुपियाँ शिशुको नाममा जम्मा गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले जानकारी दिए ।

 

घरमा सुत्केरी हुनेको सङ्ख्या बढी भएकाले यस दरलाई घटाउन गाउँपालिकाले अभियान सुरू गरेको जनाएको छ ।

 

गाउँपालिकामा चारओटा स्वास्थ्य चौकी रहेका छन् । चारओटा स्वास्थ्य चौकीमध्ये डिल्लीचौर स्वास्थ्य चौकीमा र छुमचौर स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर रहेका छन् ।

 

बाँकी पातारासी स्वास्थ्य चौकी र पटमारा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

 

सो स्थानका सबै गर्भवती महिलालाई बर्थिङ सेन्टरमै सुत्केरी गराउन र उनीहरूलाई प्रोत्साहन गर्नका लागि बर्थिङ सेन्टरमा गर्भवती हुनेलाई बच्चाको नाममा बैङ्क खाता खोलेर रकम जम्मा गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।


मानदत्त रावल