चोरी आरोपमा दुई बालकलाई प्रहरीद्वारा कुटपिट गरेको आरोप

  ०७३ भदौ १० गते

डाँडीगुरासे-१ जखनीका १२ वर्षीय बलराम कार्की र १३ वर्षीय अमिष नेपालीलाई चप्पल चोरेको आरोपमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितहरूले आरोप लगाएका छन् ।

प्रहरीको कुटाइबाट ती बालक घाइते भएपछि बलरामका बावु नारायणबहादुर कार्कीले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ९ गते उजुरी दिएका छन् ।

प्रहरीको कुटाइबाट दुई जना बालक घाइते भएको भए पनि बलरामका परिवार मात्र उजुरीको लागि जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।

पीडित पक्षले प्रहरीसमक्ष लिखित उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी चौकी डाँडीगुराँसेका असई बालराज गिरीलाई ०७३ भदौ ९ गते नै जिल्ला प्रहरी कार्यालयमा झिकाई सकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी श्याम सारु मगरले जानकारी दिए ।

असई बालराज गिरीको कमाण्डमा रहेको प्रहरी चौकी डाँडीगुराँसेका प्रहरीहरूले ती दुई बालकलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आफूहरूले चप्पल चोरेको स्वीकार गरे पनि प्रहरीले पाइप र बाँसको लौराले पैताला, हात र तिघ्रामा कुटेको पीडित बालकले बताएका छन् ।

प्रहरीको कुटपिटबाट घाइते भएका उनीहरूको सिन्धुली जिल्ला अस्पतालमा उपचार भएको छ । घाइते बालकको खुट्टामा चोट लगेको थियो ।

गएको फागु पूर्णिमाको दिन चप्पल चोरेको भए पनि प्रहरीले ती बालकहरूलाई ०७३ भदौ ४ गते नियन्त्रणमा लिई तीन दिनसम्म कुटपिट गरेको पीडितले बताए । प्रहरीले तीन दिनसम्म कुटेको, झाडी सफा गर्न लगाएको, कुखुरा बनाएको, पैतालामा कुटेर उफ्रिन लगाएको र गाली गलौजसमेत गरेको पीडित बालकका बुवा नारायण कार्कीले बताए ।

आरोपित प्रहरी दोषी पाइए ती प्रहरीलाई तत्कालै विभागीय कारबाही गर्ने डीएसपी मगरले जानकारी दिए ।


बिमला पाण्डे