चुनाव चिन्ह छापिएका भेष्टहरू जफत्

  ०७४ भदौ २५ गते

निर्वाचन आयोग र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराजमा छपाईसम्बन्धी काम गर्ने पसलहरूबाट भदौ २४ गते विभिन्न पार्टीको चुनाव चिन्ह छापिएका भेष्टहरू जफत् गरेको छ ।

Photo20170911Saptari

निर्वाचन आचारसंहिता ऐन २०७२ उल्लङ्घन भइरहेको जनगुनासो बढेपछि टोलीले भेष्टहरू जफत् गर्दै भेष्ट र टोपीमा कुनै पनि पार्टीमा उम्मेदवारको चुनाव चिन्ह छाप्ने कार्य नगर्न सचेत गराएको छ । नियन्त्रणमा लिइएका भेष्टहरू स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि फिर्ता गरिने जनाइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् स्वतन्त्र रूपमा सम्पन्न गराउनका लागि अनुगमन कार्यलाई तीव्रता दिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले बताए ।

यसैगरी हनुमाननगर कङ्कालिनी नपाको भारदहमा सङ्घीय समाजवादी फोरम, नेपालले भदौ २४ गते चुनाव चिन्ह र उम्मेदवारको पक्षमा मत माग्दै रिक्सामा माइकिङ्ग गरेको छ । निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ५ को क १२ अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने उल्लेख छ ।


मनोहरकुमार पोखरेल