चुनावी प्रचारमा प्रयोग गरिएका जीपमा नेकपाका कार्यकर्ताद्वारा तोडफोड

  ०७४ असार ८ गते

चुनावी प्रचारमा प्रयोग गरिएका चार ओटा जीपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले चुनावी प्रचारमा प्रयोग गरी पार्किङ गरी राखेका चार ओटा जीपमा ढुङ्गा प्रहार गरी सो पार्टीका कार्यकर्ताले क्षति पुर्‍याएको प्रहरीले बताएको छ ।

असार ८ गते एमाले दाङका सचिव हिराचन्द्र केसीको घर अगाडि रोकी राखेको रा १ ज ५६६ नम्बरको जीपमा नम्वर नखुलेको मोटरसाइकलमा आएका नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरी भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नेकपाका कार्यकर्ताहरूले टेलिफोन गरेर तोडफोड आफूहरूले गरेको बताएका थिए ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाले प्रचारमा प्रयोग गरेको रा १ज ५०५, राष्ट्रिय जनमुक्ति पार्टीले प्रयोग गरेको भे १ ज ५७८ नम्बरको गाडीलाई तुलसीपुरको पर्सेनीमा र नेकपा माओवादी केन्द्रले प्रचारमा प्रयोग गरेको लु १ ज १२६३ नम्बरको गाडिलाई बसपार्कमा असार ७ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडमा संलग्नहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।


जे.एन.सागर