चुनावी एजेण्डा मात्रै भयो पानी !

  ०७६ कात्तिक २५ गते

जुम्लाबाट ०६४ सालदेखि २०७४ सालसम्मको निर्वाचनमा विजयी हुने जनप्रतिनिधिको मुख्य चुनावी एजेण्डाका रूपमा तातोपानी गाउँपालिका–१ का गाउँमा खानेपानी पुर्‍याउने भएपनि हालसम्म गाउँमा पानी नआएको स्थानीयले गुनासो गरेका छन् ।

चुनावमा उम्मेदवार हुँदा सो गाउँमा खानेपानी पुर्‍याउने आश्वासन दिएपनि चुनाव जितेपछि गाउँ फर्केर नजाने स्थानीय राजेन्द्र शाहीले गुनासो गरे ।

‘सोही ठाउँबाट चुनाव जितेका नरेश भण्डारी अहिले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत छन् । तर यहाँका गाउँमा पानी पुगेको छैन ।’–शाहीले भने ।

करिब १ सय घरधुरी रहेको सो गाउँमा खानेपानीको अभाव भएपछि स्थानीय वर्षभरी नै नदीको पानीमा निर्भर रहेको शाहीले बताए ।

नदीको दुषित पानी प्रयोग गर्नाले यहाँका स्थानीय धेरै पटक बिरामी समेत भइसकेका भएपनि चुनाव जितेपछि नेताले गाउँको समस्यालाई गम्भीरतापुर्वक नहेरेको शाहीको आरोप छ ।

स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकाको अध्यक्षमा विजयी भएका नवराज न्यौपानेले पहिलो प्रथामिकता यहाँका गाउँमा पानी पुर्‍याउने रहेको भन्दै आश्वासन दिएर भोट मागे र जिते पनि समस्या समाधान नभएको शाहीको भनाई छ ।

विद्यालयमा पनि पानी छैन
गाउँमै खानेपानी नभएपछि कालिका आधारभुत विद्यालयमा पनि खानेपानीको अभाव हुँदा सरसफाई र पिउने पानीमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक कालीबहादुर शाहीले बताए ।

विद्यालयमा पानी नहुँदा हाफ टाइम हुने बित्तिकै विद्यार्थीहरूले नजिकैको तिला नदीको किनारमा गएर दुषित पानी पिउने गरेको शाहीले बताए ।

विश्वास गर्नै छाडे स्थानीयले
अचेल उम्मेदवारले अबको केही वर्षमा यहाँका गाउँमा पानी पुग्छ भनेको सुन्दा स्थानीयबासीलाई कसैले कथा भनेझैँ लाग्छ ।

आफूले चुनाव जितेपछि गाउँमा पानी आउँछ भन्ने उम्मेदवारका कुरा आफूहरूलाई विश्वास लाग्न छाडिसकेको प्रधानाध्यापक शाहीले बताए ।

नेताको भाषणको पछि लाागेर आजसम्म नदीको पानी पिउनु परेको भन्दै फेरि कोही नेता पानीको मुद्दा लिएर गाउँ आएमा गाउँबाट बहिष्कार गर्ने स्थानीयको चेतावनी रहेको शाहीले बताए । अब पानीका लागि सरकारसँग आन्दोलन गर्नुको विकल्प नरहेको शाहीको भनाई छ ।

पानी पुर्‍याउने गाउँपालिकाको योजना

सदियौँदेखि खानेपानीबाट वञ्चित यहाँका नागरिकको घरदैलोमा पानी पुर्‍याउने तातोपानी गाउँपालिकाले लिताकोट बाईराँका बृहद् खानेपानी आयोजनाका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको भएपनि गत वर्ष निर्माण हुन सकेन् ।

चालु आर्थिक वर्षमा निर्माण गरिसक्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले बताए ।

बाईराँका गाउँमा पानीको स्रोत नभएको र अन्तबाट पानी लानुपर्ने भएकाले समय लागेको उनले बताए । लामो समयदेखि रहेको खानेपानी समस्या स्थानीय सरकारले सामधान गर्ने उनले प्रतिबद्धता गरे ।


मानदत्त रावल