चिया श्रमिकद्वारा ज्यालाका विषयमा सरकारको ध्यानाकर्षण

  ०७५ चैत १३ गते

नेपाल सरकारले ०७५ साउन १ गते देखि लागू हुनेगरी नेपाल राजपत्रमा प्रकाशित गरेको चिया श्रमिकको नयाँ ज्यालादर कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरूले चैत १३ गते जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापनपत्र बुझाएका छन् ।
चिया टिप्ने सिजन सुरू हुँदै गर्दा आगामी चैत १७ गतेदेखि बगान र उद्योग प्रतिष्ठानहरूमा काम नगरी आन्दोलनमा जाने घोषणा गरेका श्रमिकहरूले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा चिया बगानका श्रमिकको आधारभूत पारिश्रमिक मासिक ६ हजार ४ सय ६९ रुपियाँ, महङ्गी भत्ता ४ हजार ३ सय १२ रुपियाँ गरी मासिक १० हजार ७ सय ८१ रुपियाँ तोकेको छ ।

यता श्रमिकहरूलाई भने बगान, उद्योग तथा प्रतिष्ठानहरूले साउनदेखि नै दैनिक २ सय ७८ रुपियाँमात्र दिँदै आएको अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले बताए ।

रेग्मीका अनुसार श्रमिकहरूको अहिलेको माग साउन यता दिइएको दैनिक ज्याला मध्येको अहिले सम्मकै अपुग रकम दैनिक १ सय ७ रुपियाँ थप गरिनु पर्ने र नेपाल सरकारले व्यवस्था गरेको समाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गरिनु पर्ने रहेको छ ।

निजीसहित सरकारी स्वामित्वमा रहेका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट, झापाका वर्ने, टोकला, बाह्दर्शी चिया बगानले पनि पूरा ज्याला नदिएको चिया श्रमिकको आरोप छ ।

चैत १२ गते नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले एक प्रेस विज्ञप्ति जारी गरेर आगामी चैत १७ गतेदेखि पुनः आन्दोलनको घोषणा गरेका थिए ।


कोकिला ढकाल