चिकित्सक र सैया कम हुँदा उपचारमा समस्या

  ०७५ भदौ ७ गते

जिल्ला अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्न थालेपछि सैया अभाव देखिएको छ । सैया अभावमा कहाँ राखेर बिरामीको उपचार गराउने भन्ने समस्या उत्पन्न भएको छ ।

५० सैयाको स्वीकृति भएपनि दरबन्दी अनुसारका डक्टर नहुँदा अस्पातालले ३५ सैयामात्र सञ्चालनमा ल्याएको छ । अहिले दैनिक १ सय जनासम्म बिरामी उपचारका आउने गरेपनि सैया अभाव भएको अस्पतालका प्रशासकीय अधिकृत क्षितिज खतिवडाले बताए ।

खतिवडाका अनुसार अस्पतालमा कार्यरत चिकित्सकको सङ्ख्या कम हुँदा दुईवटा वार्डका बिरामी एकै जना डक्टरले हेर्नुपर्ने बाध्यता छ ।

आकस्मिक कक्षमा चार जना हेल्थ असिष्टेण्टले दैनिक ३० जनाभन्दा बढी बिरामीको स्वास्थ्य जाँच गर्ने गरेको खतिवडाले जानकारी दिए । १६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले चार जना मात्रैले सेवा दिइरहेका छन् ।


कोकिला ढकाल