चिकित्सक नहुँदा बिरामी मर्कामा

  ०७६ कात्तिक २८ गते

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा गत भदौदेखि डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । साउन अन्तिमसम्म एक जना डाक्टरले सेवा दिइरहेको दक्षिण रोल्पाकै ठूलो स्वास्थ्य संस्था डाक्टरविहीन हुँदा बिरामीहरू महङ्गो खर्च गरेर दाङ तथा अन्य ठाउँमा जान बाध्य छन् ।

शवको पोष्टमार्टमका लागि पनि सदरमुकाम वा दाङ पुर्‍याउनुपर्ने बाध्यता छ । डाक्टर नहँदा सामान्य बिरामीलाई पनि रिफर हुने भएकाले घोराही जानुपर्ने बाध्यता रहेको रुन्टीगढी गाउँपालिका–९ होलेरीका स्थानीय नन्दराम खड्काले बताए ।

कार्यरत डाक्टरको सरुवा भएपछि अहिले स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बुढाले बताए ।

धेरै बिरामी आउने ठाउँ भएकाले अहिले रिफर गर्नुको विकल्प नभएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीकी निमित्त इञ्चार्ज राधा बरालले बताइन ।

‘प्रसूति र सामान्य उपचार सेवा भएता पनि अहेबले बिरामी हेरेको डाक्टरले हेरे जस्तो हुँदैन ।’–उनले भनिन् । सबैभन्दा ठूलो समस्या भिडियो एक्सरेको रहेको बरालले बताएकी छन् ।

डाक्टरहरू नबस्ने होलेरीको यो समस्या पुरानै भएको स्थानीय गोपाल डाँगीले आरोप लगाए । ‘डाक्टर बस्न रुचाउँदैनन् वा केन्द्रबाट पठाउन चाहँदैनन् ।’–डाँगीले भने–‘यस बारेमा जानकारी नभएर आफूहरूले सधैँ सास्ती खेप्नु परेको छ ।’

रून्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने यस बारेमा जिल्लामा जानकारी गराएकाले तत्काल समस्या समाधान हुने आशा व्यक्त गरे ।


माधवकुमार ओली