चिकित्सकमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न माग

  ०७७ साउन २२ गते

कोशी अञ्चल अस्पताल विराटनगरमा कार्यरत चिकित्सकमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले साउन २२ गते माग गरेको छ ।

साउन २० गते कोशी अञ्चल अस्पतालमा भर्ना गरिएका विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय एक पुरूषको उपचारका क्रममा साउन २१ गते मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृत्तकका आफन्तले अस्पतालको आइसोलेशन विभागमा कार्यरत ३५ वर्षीय डा.रञ्जित यादवलाई कुटपिट गरेका थिए ।

सङ्घको कोशी अञ्चल शाखा अध्यक्ष डा.फरवार्ड सिलवालले साउन २२ गते विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण देखिएको बिरामीको प्रोटोकल अनुसार आईसोलेशमा राखेर उपचार भइरहेको बेला मृत्यु भएकोमा चिकित्सकमाथिको हातपात भएकाले दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।

मृत्तकका परिवारले शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म शव दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा हातपात गरेको कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.चुमनलाल दासले  बताउनुभयो ।

शवको अन्त्येष्टी नेपाली सेनाको शव व्यवस्थापन टोलीले साउन २१ गते पथरीशनिश्चरे जङ्गलमा गरेको छ ।


नेत्रप्रसाद अधिकारी