चिकित्सकमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन १५ गते

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजनालाई गिरफ्तार गरेको राससले जनाएको छ ।

उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई गिरफ्तार गरेको हो ।

नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै पटेल र हवारीले अस्पतालको प्रसुती वार्डमा प्रवेश गरी स्त्री रोग विशेषज्ञ डा. चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई हातपात गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जानकारी दिए ।

अस्पतालको प्रसुती वार्डमा रहेको ढोका तोडी पटेल र हवारी प्रवेश गरी चिकित्सक तथा नर्समाथि हातपात गरेपछि आवश्यक कारबाहीका लागि प्रहरी बोलाई उनीहरूलाई गिरफ्तार गर्न लागाएको डा. साहले बताए ।

प्रशव वेदनाबाट पीडित रहेकी खातुन गए राति उपचार गराउन अस्पतालमा आउँदा उनको युट्रेसको मुख खुल्ला नभएको कारण घर फिर्ता पठाएको थियो । घर गएकी खातुनले बिहान घरमै मृत बच्चा जन्माएपछि चिकित्सको लापरबाहीको कारण नवजात शिशुको मृत्यु भएको गिरफ्तारीमा परेका दुवै जनाले आरोप लगाएको मेसु साहले बताए ।

अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार घटनाका आरोपितद्वयलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन गरिएको मेसु साहले जानकारी दिए ।


अनलाइन डेस्क