चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको आरोप, न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह

  ०७७ भदौ १३ गते

चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि पहल गरिदिन कलैया उमनपा–७ बैरियाकी २२ वर्षीया अन्तिमा भगत मालीको परिवारले भदौ १२ गते इन्सेक जिल्ला कार्यालयमा निवेदनमार्फत आग्रह गरेको छ ।

माली सुत्केरी हुनका लागि भदौ ५ गते दिउँसो १ बजे कलैया अस्पतालको प्रसूति कक्षमा भर्ना हुनुभएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, चिकित्सक र कर्मचारीको लापरवाहीले बच्चाको मृत्यु भएको आरोपमा भदौ ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कारवाही नभएकाले न्यायका लागि पहल गरिदिनपीडितको परिवारले इन्सेक जिल्ला प्रतिनिधिलाई आग्रह गरेको  हो ।

प्रसूति गराउन इमरजेन्सी वार्डमा ड्यूटीमा रहनु भएकी डाक्टर अञ्जली चौरसियालाई चार पटक बोलाउँदा पनि सरकारी क्वार्टरमा बसेर उपचार गराउन नआएको पीडित परिवारको आरोप रहेको छ ।

अस्पतालका डाक्टरहरूले अश्लिल गाली गलौज गरी उपचारमा बेवास्ता गरेको पीडित पक्षको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुरारी कार्कीले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाही गर्न पत्र पठाएपनि कारवाही नभएकोले इन्सेक कार्यालयमा न्यायका लागि पहल गरिदिन निवेदन दिएको पीडित परिवारका शुभाष भगत मालीले बताउनु भयो ।

बच्चाको मृत्युको विषयमा यथार्थ कुराको प्रतिक्रिया र सम्बन्धित चिकित्सकको रिपोर्टका आधारमा कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अदेश दिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनु भएको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद–८ को दफा ५२ मा कर्मचारीले नेपाल सरकारबाट निर्धारित समयमा नियमित कार्यालयमा हाजिर हुनु पर्दछ र सकेसम्म पहिले बिदाको स्वीकृत नलिई कामबाट अनुपस्थित हुनु हुँदैन भनिएपनि सोको पालना नगरेको पीडित परिवारको आरोप छ ।

यस्तै दफा ५३ को उपदफा १ मा कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नुपर्छ भनिएको छ ।

दफा ७४ को “क” मा लापरबाही वा बदनीयतले काम गरेमा, कर्मचारीले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था भए अनुसार कारवाही गर्न पीडित पक्षले माग गरेको छ ।


भोलानाथ पौडेल