चार वर्ष देखि टहरोमै कक्षा !

  ०७६ मङ्सिर २८ गते

शहीद लखन गाउँपालिका–३ ताक्लुङको सिञ्जाली माविको नयाँ भवन नबन्दा पठनपाठनमा समस्या भएको छ ।

आर्थिक वर्ष २०६७-०६८ मा उक्त विद्यालय भवन निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । तर, जिम्मा लिएर पनि चीन सरकारले भवन निर्माण प्रक्रिया नथाल्दा टहरोबाटै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बलनारायण  श्रेष्ठले बताउनुभयो ।

‘जाडोमा कक्षामै शीत चुहिन्छ । गर्मी महिनामा टिन तातेर बस्न सकिन्न । बर्खाको भेल कक्षा भित्रै छिरेर हिलाम्मे बन्छ ।’–उहाँले भन्नुभयो–‘अहिले जाडो महिनामा स्याँठ र शीतले पढाउनै मुस्किल परेको छ ।’

उक्त विद्यालयको ११ कोठे पुरानो भवन वैशाख १२ को भूकम्पले भत्काएपछि पठनपाठनमा समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।

‘भत्किएकै विद्यालयको काठपातले बनाएको टहरोको जस्तामा प्वाल परेको छ । सानो पानी परेपनि ओत्दैन ।’–उहाँले भन्नुभयो ।

एकदेखि आठ कक्षाका विद्यार्थीलाई टहरोमा राखिएको तथा ९–१० कक्षाका विद्यार्थीलाई भने भूकम्पले चर्काएर जोखिमपूर्ण बनेको (असुरक्षित भनेर स्टिकर टाँसिएको) भवनबाट कक्षा चलाइएको विद्यालयले जनाएको छ ।

पुर्वाधार अभावमा शैक्षिक गुणस्तर पनि खस्कँदै गएको अभिभावक ध्रुव खनाल बताउनुहुन्छ । ‘एक कक्षामा पढाएको अर्को कक्षामा प्रष्ट सुनिन्छ ।’–उहाँले भन्नुभयो–‘यसरी पढ्दा बच्चाबच्चीको ध्यान पढाइमा नजाँदो रहेछ ।’

छिमेकी प्रावि विद्यालयको सुविधा सम्पन्न भवन बनिसक्दा सिञ्जाली माविको भवन निर्माणकै प्रक्रिया सुरू नभएको भन्दै स्थानीयले आक्रोश पोखे ।

‘दुई तीन पटक शिक्षा मन्त्रालयमा पुगिसकेका छौँ । शिक्षा मन्त्रालयको विदेश विभागमार्फत चीनको राजदुतावासमा पनि कुरा भएको छ ।’–उहाँले भन्नुभयो ।

उक्त विद्यालयकोे भवन निर्माण अन्य सङ्घसंस्थालाई पनि दिन नमिलेको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन एकाइ(शिक्षा)का प्रमूख विष्णुप्रसाद मिश्रले बताउनुभयो ।

‘सम्झौता तोड्दा दुई देशको सम्बन्धमा कुरा आउँछ ।’–उहाँले भन्नुभयो–‘परराष्ट्रमार्फत चीनको राजदुतावासमा छिटो निर्माणका लागि पहल गर्न मन्त्रालयलाई भन्छौँ ।’

करिब एक दशकअघि नै भवन निर्माणको जिम्मा लिएपनि चीन सरकारका प्रतिनिधि दुई पटक मात्र स्थलगत निरीक्षणका लागि ताक्लुङ आएका छन् ।

पछिल्लो समय डेढ वर्षअघि चीन सरकारका प्राविधिकले विद्यालयको अवस्थाबारे स्थलगत निरीक्षण गरेका थिए ।

तर, विद्यालय पुनर्निर्माण थाल्ने विषयमा कुनै कुराकानी नभएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गुनासो छ । सिञ्जाली माविमा २ सय ६७ विद्यार्थी हाल अध्ययनरत छन् ।

photo20191210gorkha1

photo20191210gorkha2


हरिराम उप्रेती