चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा विरामी विशेषज्ञ सेवाबाट वञ्चित

  ०७४ भदौ १३ गते

जिल्ला अस्पताल दार्चुलामा विगत चार वर्षदेखि टेलिमेडिसिन सेवा बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् । २०७० सालमा आएको महाकाली बाढीले क्षतिग्रस्त जिल्ला अस्पताल दार्चुलाको टेलिमेडिसिन सेवा पुनः सुचारू नहुँदा सेवाग्राही सेवाबाट वञ्चित भएका हुन् ।

ललितपुरको पाटन अस्पतालका विशेषज्ञ डाक्टरहरूसँग इन्टरनेटमार्फत भिडियो सम्पर्क गरी उपचार गर्ने प्रविधि टेलिमेडिसिन सेवा चार वर्षबितिसक्दा पनि पुनः सुचारू हुन सकेको छैन । मेसिनका अधिकांश भागहरू खिया लागेर काम नलाग्ने भइसकेको र नयाँ पार्टपुर्जाहरू बदल्नुपर्ने भएको अस्पतालले जनाएको छ ।

अहिले बिरामीले विशेषज्ञ सेवाको उपचार गराउन छिमेकी बजार भारततिर जानुपर्ने बाध्यता छ । जिल्ला अस्पताल दार्चुलाको एकमात्र एक्सरे मेसिन पनि एक महिनादेखि बिग्रिएर थन्किएको छ । 'हाई भोल्टेज'का कारण मेसिनको ट्रान्र्सर्फर ब्रि्रेकाले एक्सरे सेवा अवरूद्ध भएको जिल्ला अस्पताल दार्चुलाका डा. रविरञ्जन शाहले जानकारी दिए ।

एक्सरे मेसिन माग गरिएको भएपनि प्राप्त हुन नसकेको उनको भनाई छ । अस्पतालमा दोस्रो एक्सरे मेसिन नहुँदा बिरामीको चेकजाँचमा समस्या भएको उनले बताए ।

जिल्ला अस्पतालमा एक्सरे सेवा नहुँदा सामान्य एक्सरे सेवाका लागि पनि बिरामीलाई भारतको धारचुला पठाउनुपर्ने बाध्यता छ । सेवा सुविधा थप्दै गएको भनिएपनि बिरामीले सामान्य चेकजाँच गर्न पनि भारतीय बजार जानु परेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।


नरेन्द्रसिंह कार्की