चार महिनादेखि निःशुल्क खाजाबाट बञ्चित विद्यार्थी

  ०७६ फागुन ५ गते

चन्द्रपुर नपा–६ मा अवस्थित जनज्योति माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा चासो नदिँदा विद्यार्थीहरु सरकारले दिने दिवा खाजाबाट बञ्चित हुनाका साथै नमूना विद्यालय अन्तर्गत आएको सरकारी अनुदानको पहिलो किस्ता वापतको १ करोड ५० लाख रुपियाँ पनि काम नभई फ्रिज हुने अवस्थामा पुगेको छ ।
बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दैै नेपाल सरकारले स्थानीय सरकार मार्फत शिशु कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई दैनिक प्रति विद्यार्थी १५ रुपियाँ बराबरको निःशुल्क खाजाको व्यवस्था गरेको छ । उक्त खाजा कार्यक्रमले बालबालिकाहरू नियमित रुपमा विद्यालय आउन पनि मद्दत गर्ने गरेको छ । तर, जनज्योति माध्यामिक विद्यालयले व्यवस्थापन समिति गठन गर्न नसक्दा नगरपालिकाले चार महिनादेखि दिवा खाजाको रकम निकासा रोक्का गरेको छ ।
विद्यालयका प्रध्यानाध्यापक र सरोकारवाला व्यक्तिहरुले यस विषयमा ताकेता गरेपनि हालसम्म समिति गठन गर्न चासो नदेखाएको नगरपालिकाको आरोप छ । विद्यालयको वेवास्ताका कारण २५० भन्दा बढि विद्यार्थीहरु सरकारले दिएको सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् ।
सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ अनुसार विद्यालयमा खाजा व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको समिति सदस्यको अध्यक्षतामा खाजा व्यवस्थापन समिति गठन हुनुपर्ने व्यवस्था छ ।
समिति चयन नहुँदा खाजा कार्यक्रम मात्र होइन, विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिमा समेत असर परेको छ ।
विद्यालयका प्रधानाध्यापक शंकर भट्टराईका अनुसार राजनीतिक सहमति कुरिएको हुनाले समिति गठन प्रक्रिया केहि ढिला भई रहेको छ ।


कोपिला तिमल्सिना