चार महिनादेखि अस्पतालमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

  ०७६ साउन २३ गते

सिन्धुली अस्पतालमा विगत चार महिनादेखि कर्मचारी अभाव भएको छ । कर्मचारी समायोजनपछि अस्पतालमा कर्मचारी अभाव भएको हो । कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

६४ जना स्थायी कर्मचारीको दरवन्दी रहेको अस्पतालमा हाल आठ जना मात्र स्थायी कर्मचारीले काम गरिरहेका छन् भने अन्य कर्मचारीहरू समायोजनपछि अस्पतालमा आएका छैनन् ।

कर्मचारी अभाव भएपछि जिल्लामा नियमित स्वास्थ्य सेवा तथा अन्य प्रशासनिक कामकाज सञ्चालन गर्न समस्या भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ड डाक्टर सुमित्रा गौतमले बताइन् ।

दैनिक रूपमा २ सय ५० देखि ३ सयको हाराहारीमा बिरामीहरू आउने यो अस्पतालमा पाँच जनाको मात्र टेक्निकल टिम रहेको उनले बताइन् ।

समायोजनपछि अस्पतालमा प्राय सबै दरवन्दी खाली भएको भएपनि आर्थिक वर्ष सुरू भएको तीन हप्ता बितिसक्दा पनि दरवन्दी अनुसारका कर्मचारी अस्पतालमा नआएको भन्दै उनले भनिन्–‘अस्पतालमा दैनिक सामन्य ओपिडीमा आउने बिरामीको सङ्ख्या मात्र ३ सयको हाराहारीमा हुन्छ । अन्य इमरजेन्सी बिरामी दैनिक २५ देखि ३० जनासम्म आउने गरेका छन् । जनशक्तिको अभावले एउटै डाक्टरले ४८ घण्टासम्म काम गर्नु परेको अभिलेख धेरै छ ।’

अस्पतालको समस्याको विषयमा व्यवस्थापन समितिदेखि प्रदेश सरकार र सङ्घीय सरकार समेतलाई जानकारी भए पनि कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले बताइन् ।

प्रदेश सरकारले तत्काल चिकित्सक, स्टाफ नर्स, अहेव, अनमी, ल्याव टेक्निसियन, रेडियोलोजिष्ट लगायतका कर्मचारी नपठाएमा जुनसुकै बेला पनि अस्पताल बन्द हुन सक्ने अवस्थामा पुगेको डाक्टर गौतमले बताइन् ।

अस्पतालको बर्थिङ सेन्टरमा मात्र दैनिक १० देखि २० जनासम्म गर्भवती महिलाहरू सुत्केरी हुन आउने गरेको अभिलेख रहेको भन्दै बर्थिङ सेन्टर समेत बन्द हुने अवस्थामा पुगेको उनले बताइन्  ।

गत वैशाखमा सामान्य प्रशासन मन्त्रालयको सरूवाको लिष्टलाई आधार मान्दा अस्पतालमा एक जना प्रशासनिक कर्मचारी बाहेक सबै दरवन्दी खाली रहेको छ ।

उनीहरू गएपछि अस्पताल रित्तिने र अस्पतालका सबै सेवा बन्द हुने अवस्थामा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार अस्पतालमा ६ जना विशेषज्ञ डाक्टर सहित ६४ जनाको दरवन्दी छ ।

अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतम पनि काजमा रहेकी छिन् । कर्मचारी समायोजनमा दुई जना अनमीहरूले स्थानीय तह र अन्यले सङ्घ रोजेपछि एक जना प्रशासनका सुब्बा भन्दा बाहेक अस्पतालका कर्मचरी रित्तिएका हुन् ।


बिमला पाण्डे