चार दिनदेखि स्वास्थ्यचौकी र गाउँपालिका कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

  ०७६ असोज ११ गते

चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिसँग गरिएको पाँच बुँदे सहमतिको कार्यन्वयन नभएको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालय र स्वास्थ चौकीमा तालाबन्दी गरेपछि  सेवाग्राही मर्कामा परेका छन् ।

गत भदौ २७ गते कर्णालीमा हामफालेर मृत्यु भएका स्वास्थचौकीका अहेब ४० वर्षीय लालबहादुर शाहीको शवको खोजी गर्ने भनी गरिएको सहमति कार्यान्वयनमा ढिलाइ गरिएको भन्दै शाहीका आफन्तहरूले गाउँपालिकाको कार्यालय तथा स्वास्थचौकीमा तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

यस अघि शव खोजीको माग गर्दै भदौ ३० गतेदेखि असोज ४ गतेसम्म ६ दिन चङ्खेली गाउँपालिका कार्यालय र स्वास्थ्यचौकीमा तालाबन्दी गरिएको थियो ।

गाउँपालिकामा भएको अनियमितता ढाकछोपलाई सार्वजनिक गर्ने, पानीमा हाम फालेर बेपत्ता भएका अहेब शाहीको हेलिकप्टरबाट खोजी गर्ने, बेपत्ता भएका शाहीका परिवारलाई सरकारले दिने क्षतिपुर्तिमा गाउँपालिकाले थप गर्ने, बेपत्ता शाहीको घटना सत्यतथ्य निष्पक्ष रूपमा छानविन गर्नेलगायत विषयमा असोज ४ गते जनप्रतिनिधि र आन्दोलनरत् पक्षबीच सहमति भएको थियो ।

जनप्रतिनिधिका तर्फबाट गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईँले सो निर्णयमा हस्ताक्षर गरेपनि तीन दिनको म्याद राखिए बमोजिमको कार्य पुरा नभएको भन्दै भदौ ७ गतेबाट तालाबन्दी गर्दै पुनः आन्दोलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

तीन दिनको आन्दोलन र तालाबन्दीले गर्दा गाउँपालिकाको कार्यालयबाट उपलब्ध हुने जन्म, मृत्यु, नागरिकतालगायत अन्य विभिन्न खाले सिफारिस पाउनबाट सेवाग्राही मर्कामा परेको स्थानीय दन्तबहादुर शाहीले बताए ।

तालाबन्दीपछि गाउँपालिकाको कार्यालय मात्रै नभई स्वास्थ्यचौकीमा समेत उपचारका लागि आएका बिरामी पनि सेवा नलिई फर्किन बाध्य भएका छन् ।

पिपलाङ स्वास्थ्यचौकीमा प्रतिदिन २० देखि २५ जना बिरामी उपचारका लागि पुग्ने गरेपनि स्वास्थ्यचौकीमा तालाबन्दी हुँदा सेवा नलिई घर फर्कनु परेको उपचारका लागि पुगेकी स्थानीय पञ्चकली ऐडीले गुनासो गरिन् । सदरमुकाम सिमकोट जान चारदिन लाग्ने हुँदा समस्या भएको ऐडीले गुनासो गरिन् ।

गाउँपालिका अध्यक्ष धनलाल चौलागाईँले तालाबन्दीले कसैलाई फाइदा नपुग्ने भन्दै सहमतिमा उल्लेखित बुँदा कार्यान्वयनका लागि आफूले पहल गरिरहेको बताए ।


नन्द सिंह