चार जना बालिका डुबेर मृत्यु भएको घटनाको छानबिन टोली रौतहटमा

  ०७४ सउन २४ गते

नयाँ सडक बनाउदा खनेको खाडलमा डुबेर चार जना बालिकाको मृत्यु भएको घटनाको छानबिन गर्न नेपाल सरकारले गृहमन्त्रालयका सहसचिव दिपक काफ्लेको संयोजकत्वमा गठन गरेको छानबिन टोलीले रौतहट पुगी घटनाको छानबिन सुरु गरेको छ । सरकारी टोलीले साउन २४ गते दिउँसो गरुडा स्थित घटनास्थलको अवलोकन समेत गरेको छ ।

सरकारी टोलीमा पूर्वाञ्चल क्षेत्रीय सडक डिभिजन कार्यालयका प्रमुख मुक्ति गौतम, नेपाल प्रहरीका डिआइजी पुष्प रञ्जित सहभागी छन् । छानबिन टोलीका संयोजक सहसचिव दिपक काफ्लेले स्थानीय प्रशासन र स्थानीयबासीको प्रतिकृयाको आधारमा प्रतिवेदन तयार पारिने बताएका छन् ।

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगको छानबिन टोलीले समेत घटनाको अनुसन्धान सुरु गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख दिपेन्द्रबहादुर सिंहसहित मानव अधिकार अधिकृत इन्द्रजित सहनीको टोली रौतहट आएर घटनाको छानबिन सुरु गरेको हो ।

आयोगको टोलीले घटनास्थल निरीक्षण, पीडित परिवारसँग भेटघाट तथा अन्य सम्बन्धित सरोकारवालाहरूसँग भेटघाट र छलफल गरी प्रतिवेदन तयार गर्ने आयोगका अधिकृत सहनीले बताए ।

साउन २१ गते दिउँसो गरुडा नगरपालिका-४ का रामएकवाल साहका छोरीहरू १२ वर्षीया सुनिता साह, नौ वर्षीया सङ्गीता साह, योगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना साह र प्रेमनारायण साहकी नौ वर्षीया छोरी सुस्मिता साहको सडक किनारको खाडलमा डुबेर मृत्यु भएको थियो । बालिकाहरूको मृत्यु भएपछि स्थानीयबासीले दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको माग गर्दै सडकमा शव राखेर आन्दोलन गरेका थिए । सडक बनाउन खनेको खाडलमा डुबेर बालिकाहरूको ज्यान गएको भन्दै संसदसमेत अबरुद्ध भएपछि सरकारले घटनाको छानबिन गर्न छानबिन टोली गठन गरेको थियो ।


विपीन गौतम