चार ओटा गाउँपालिकामा खाद्यान्नको सङ्कट, आपूर्तिका लागि हेलिकोप्टरको माग

  ०७६ साउन ८ गते

दुई साताहदेखि अवरूद्घ सडक सुचारू हुन नसकेपछि उदयपुरको विकट चार ओटा गाउँपालिकामा खाद्यान्न सङ्कट देखिएको छ ।

असार २६ गतेको भारी वर्षाले सिद्धिचरण र सगरमाथा लोकमार्गसँगै ग्रामीण सडकहरू कामै नलाग्ने गरी भत्किए पश्चात पहाडी क्षेत्रमा खाद्यान्न सङ्कट देखिएको हो ।

सदरमुकामलगायतका मुख्य व्यापारिक केन्द्रबाट पहाडी भेगमा जाने सबै सडक पहिरोले अवरूद्घ भएपछि सर्वसाधरणले खाद्यान्नको सङ्कट व्यहोर्नु परेको छ ।

दुई छाक खानसमेत अन्न नभएपछि कतिपय सर्वसाधारण एक छाक मात्र खाएर बस्न बाध्य भएको लिम्चुङ्गबुङ्ग गाउँपालिका-३ वारहाका गुरूमणी कुमाईले बताए ।

बजारमा भएका सामग्री सकिनु, आउने बाटो नहुनु र मौजाद गर्ने सामर्थ्य नभएकाकारण अन्नको सङ्कट लागेको उनले बताए ।

लामो समयको खडेरी पश्चात भएको भारी वर्षाले विस्तारित सडकहरू भेलले बगाएपछि जिल्लाको कर्णाली क्षेत्रको रूपमा चिनिएको लिम्चुङ्गबुङ्ग, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका बासिन्दालाई पेट भर्न समस्या भएको जिल्ला समन्वय समितिका सदस्य तथा लिम्चुङ्गबुङ्ग गाउँपालिका-२ ताम्लिछाका बोधबहादुर थापाले बताए ।

'हिँडेर आउन सक्ने अवस्था त छैन । गाडी सञ्चालनको त कुरै नगर्नुस् ।' उनले भने-'रातदिन नभनी जेसिवी लगाएर सडक बनाउने हो भने गाउँपालिकाको केन्द्र पुग्ने बाट बनाउन मात्र पनि एक महिना लाग्छ ।'

दुई दिनको बाटो चार दिन लगाएर आएको बताउँदै उनले भने-'सडक काम लाग्ने अवस्थामा छैन । सडक नहुँदा गाउँले हिँडेका पुराना बाटो पहिल्याउँदै सदरमुकाम आइपुगेँ ।'

खाद्यान्न सङ्कटको समाधान समयमा नै नगर्ने हो भने यसले महामारी रूप लिने लिम्चुङ्गबुङ्ग गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए ।

उनले भने-'समस्या समाधानका लागि पालिकाबाट मात्र सम्भव नभएपछि केन्द्र र प्रदेश सरकारलाई जानकारी गराएका छौँ । त्यति मात्र नभई बेलामौकामा झक्झक्याएका छौँ । आश्वसन पाएका छौँ । काम भएको छैन ।'

ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले भने-'अन्य सडक र वडा जोडिने सडक त कुरै छोडौँ सदरमुकामबाट गाउँपालिका केन्द्र जाने सडक नै १ सय भन्दा बढी ठाउँमा पहिरो गएर नाम निशानै मेटिएको छ ।'

लिम्चुङ्गबुङ्ग गाउँपालिकाका अध्यक्ष राईले भने-'गाउँका पसलमा राखिएका खाद्यान्न लागायतका सामग्री एक साता अघि नै सकिए । थप्नसक्ने अवस्था छैन । के गरी सङ्कट टार्नु ?'

उनले हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गर्ने तयारी भइरहेको बताए । 'तत्काल समाधानका लागि २ हजार ५ सय बोरा भए पुग्छ ।'-अध्यक्ष राईले भने-'ढुवानीका लागि हेलिकोप्टर व्यवस्था गरिदिन प्रदेश र सङ्घीय सरकारसँग कुरा भइरहेको छ । आशा छ उहाँहरू सकारात्मक हुनु हुनेछ ।'

पहाडी क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

चार ओटै गाउँपालिकामा ९० प्रतिशत भन्दा बढीको मुख्य पेसा कृषि भएपनि ६ महिना बढी धान्न सक्ने अनाज उत्पादन नहुने स्थानीयले बताए ।


भरत खड्का