चामल वितरणका लागि कुपन कार्ड वितरणमा पक्षपात !

  ०७६ वैशाख १५ गते

सिमकोट गाउँपालिकाले नयाँ वर्ष लागेसँगै गाउँपालिकाभित्रका नागरिकलाई रासन कार्डको कुपनमार्फत् खाद्यान्न वितरण गर्दा पक्षपात गरेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् ।

सो गाउँपालिकाका वडा नम्बर १, २, ३, ७ र ८ मा रहेका २ हजार ५ सय स्थानीयलाई प्रतिव्यक्ति तीन केजी र सोही गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का स्थानीयलाई प्रतिव्यक्ति पाँच केजीका दरले खाद्यान्न पाउने भनी व्यवस्था गरेपछि पक्षपात भएको सिमकोट गाउँपालिका–७ का कलबहादुर शाहीले गुनासो गरे ।

शाहीका अनुसार समान परिमाण उल्लेख गरिएको कार्ड पाउनुपर्ने माग गर्दै वैशाख १२ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा स्थानीयबासी पुगेपनि माग सम्बोधन भएन ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले भने सो निर्णय गाउँपालिका र खाद्य व्यवस्थान समितिले गरेका कारण जिल्ला प्रशासन कार्यालयले माग सुनुवाई गर्न नसक्ने प्रतिक्रिया दिए ।

कुपनबारे निर्णय गर्ने प्रमुख अधिकार गाउँपालिकाका उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुखको रहेकोमा दुवैजना सोही गाउँपालिकास्थित वडा नम्बर ६ कै बासिन्दा हुनाले पक्षपात भएको स्थानीय हैतबहादुर शाहीको आरोप छ ।

यस अघि वडाको कोटा भागबाट संयुक्त वितरणमा प्रति व्यक्ति चार केजी चामल वितरण हुने गरेकोमा पछिल्लो समय जनप्रतिनिधिबाट स्थानीयलाई उल्टै दुःख दिने काम भएको शाहीले गुनासो गरे ।

अघिल्ला वर्षमा वडाको सिफारिसमा चामल वितरण गर्दै आएको खाद्य सुरक्षा व्यवस्थापन समितिले यो वर्षदेखि गाउँपालिकाको मातहातमा रासन कार्ड बनाएर चामल वितरण गर्न सुरू गरेको छ ।

खाद्यान्न वितरण प्रक्रियामा अनियमितता देखिएको भन्दै खाद्य सुरक्षा व्यवस्थापन समितिले कुपन व्यवस्था अनुरूप चामल वितरण गर्ने सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावतले जानकारी दिए ।

उपाध्यक्ष रावतले सिमकोट गाउँपालिकाका तीनओटा वडामा सरकारी कार्यालय र विभिन्न खेलका मैदानलगायत विमानस्थलका लागि स्थानीयको जग्गा जमीन गएकोले पाँच र तीन केजीको दरको कुपन वितरण गर्नु परेको दाबी गरे ।

कुपनबाट सिमकोट गाउँपालिका भित्रका नागरिकलाई खाद्यान्न वितरण गर्दा अनियमितता रोकिएको उपाध्यक्ष रावलको दावी छ ।

सिमकोट ४, ५ र ६ नम्बर वडाका नागरिकहरूसँग उत्पादन हुने खेतियोग्य जमिन नहुँदा प्रतिव्यक्ति पाँच केजिका दरले वितरण गरिएको रावतको भनाई छ ।


नन्द सिंह