चाडबाडको सम्मुखमा डोल्पामा खाद्यान्न संकट

  २०७७ असोज ३० गते

चाडबाडको सम्मुखमा हिमाली जिल्ला डोल्पामा खाद्यान्न संकट भएको छ । डोल्पाका मुड्केचुला, जगदुल्ला र काइके गाउँपालिका तथा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका ग्रामीण बस्तीहरुमा खाद्यान्न संकट भएको हो ।

साउनको अन्तिम सातादेखि गाउँपालिकामा खाद्यान्न संकट भएको मुड्केचुला गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष भानुभक्त बोहराले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पालाई पटक पटक पत्राचार गरेपनि अहिले सम्म खाद्यान्न आपूर्ति हुन नसकेको बोहराको भनाई छ ।

नयाँ आर्थिक वर्षको लागि खोलिएको टेण्डर स्वीकृत भएपनि लकडाउनका कारण ढुवानीमा ढिलाई भएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।

अहिले बर्षायाम सकिएको र लकडाउन पनि खुकुलो भएकाले जतिसक्दो छिटो सम्बन्धित क्षेत्रमा खाद्यान्न पु¥याउन ढुवानी जिम्मा पाएका ठेकेदारलाई ताकेता गरिएको पनि प्रमुख पाण्डेको भनाई छ ।

यस्तै ठुलीभेरी नगरपालिका वडा नम्बर ५ र ६ मा पर्ने माझफाल दुरगाउँ र काँडाताली गाउँमा चरम खाद्यान्न संकट भएको वडा नम्बर ६ का अध्यक्ष धर्मलाल बुढाले जानकारी दिनुभयो । भदौको दोस्रो साताभित्रमा चामल आइपुग्छ भनेपनि अहिलेसम्म नआउँदा समस्या परेको बुढाको भनाई छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी अनुदानमा उपलब्ध गराउने चामल नपाएपछि बजारमा पाइने महँगो चामल किनेर खान बाध्य भएको जगदुल्ला गाउँपालिका ७ रिमिका अंक रोकायले बताए ।

उत्तरी सिमा नाकामा पर्ने शे फोक्सुण्डो गाउँपालिका लगायत डोल्पोबुद्द र छार्काताङसोङ गाउँपालिकामा काठमाण्डौबाट ल्हासा हुदै तिब्बत भएर डोल्पामा चामल पुर्‍याउने गरिन्छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका अनुसार कोभिड–१९ को कारण चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा चुलिएको खाद्यान्न संकट दशैंको सम्मुखमा पनि कायमै छ ।

पैदल ढुवानी गरेर खाद्यान्न पुर्‍याउँदा महँगो पर्ने र समय पनि धेरै लाग्ने भएकाले हेलिकप्टेर मार्फत खाद्यान्न ढुवानी गरिदिन प्रदेश सरकारलाई लिखित अनुरोध गरेको भएपनि सुनुवाई नभएको डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरूङ्गले गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कात्तिकको ४ देखि ५ गते भित्रमा तल्लो र मध्य डोल्पाकाका सबै जनताले खाद्यान्न पाइसक्ने र उपल्लो डोल्पाको लागि तत्काल हेलिकप्टर मार्फत केहि राहतको रूपमा भएपनि खाद्यान्न पु¥याउने व्यवस्था भइरहेको इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।


विष्णुप्रसाद देवकोटा