चर्को घाममा राखी विद्यालयमा दण्ड दिएको आरोपमा नगरपालिकामा उजुरी

  ०७६ जेठ १३ गते

नेपालगञ्जस्थित ब्राइटल्याण्ड स्कुलमा कक्षा चारमा अध्ययनरत १० वर्षीय शिशिर रानालाई जेठ ६ गते घाममा उभ्याएर दण्ड दिएको घटनाको अनुसन्धान गरी कारवाहीको माग गर्दै बालकका अभिभावककले जेठ १३ गते नेपालगञ्ज उमनपाको शिक्षा शाखामा उजुरी दिएका छन् ।

साथै पीडित पक्षले आवश्यक सहयोगको माग गर्दै सोही दिन इन्सेक प्रदेश ५ कार्यालयमा निवेदन दिएको छ ।

शिशिरले विद्यालयमा ड्रेस फोहर गर्नेे, नास्ता नखाएर घर फिर्ता लैजाने गरेको र विद्यालयमा पानी पिउनको लागि लामो लाइन बस्नुपर्ने र कक्षा कोठामा नै झगडा गर्दा शिक्षकले कुनै वास्ता नगरेको जस्ता विषयमा स्कुलमा भएका असहजताबारे आमासँग गुनासो गरेपछि वास्तविकता बुझ्न र शुल्क बुझाउनको लागि जेठ ६ गते नेपालगन्ज उमनपा–१ की सीता राना विद्यालय पुगेकी थिइन् ।

विद्यालयका प्रिन्सिपल ४८ वर्षीय विजय लामाले आफ्नो कुरामा वास्ता नगरी अभद्र व्यवहार गर्दै तत्काल आफ्ना बच्चाहरूलाई अर्कै विद्यालयमा लैजान भनेर धम्क्याएको समेत उनले बताइन् ।

गुनासो गरेकै प्रतिशोधमा आफ्नो कान्छो छोरा शिशिरलाई प्रिन्सिपल लामाले प्रचण्ड गर्मीमा १ घण्टा बाहिर घाममा उभ्याएको र स्कुल विदा भइसकेपछि अफिस कोठामा लगेर छातिमा समातेर किन कपडा फोहोर गरेको भन्दै धम्क्याएको सीताको आरोप छ ।

अन्य बालबालिकाको अगाडि सजाय दिएपछि विद्यालय जान नमानेका आमा सीताले बताइन् । उनले यसै शैक्षिक सत्रबाट शिशिर र शितललाई उक्त विद्यालयमा भर्ना गरको बताइन् ।

‘मैले भर्ना गर्दा तिरेको रकम फिर्ता हुने हो भने म मेरा बच्चाहरूलाई एक दिन पनि त्यहाँ पठाउँदिन भन्दा प्रिन्सिपल विजय लामाले रकम फिर्ता हुँदैन भन्दै धम्काएका छन् ।’–सीताले निवेदनमा उल्लेख गरेकी छन् ।

प्रिन्सपल लामाले आफूमाथि झुटो आरोप लगाएको बताए । घटनाका विषयमा नेपालगञ्ज उमनपा शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले उजुरी आएको र घटनाको विषयमा बुझ्न बाँकी नै रहेको बताए ।

उक्त विद्यालयमा यसअघि ०७६ वैशाख २५ गते कपिमा कभर नलगाएको आरोपमा कक्षा तीनमा अध्ययनरत आठ वर्षीया अनन्या शर्मालाई कुटपिट गरेको घटना सार्वजनिक भए पनि पीडित पक्षले कँही उजुरी दिएका थिएनन् ।


स्मृति देवकोटा