चरिकोट कारागारमा कैदीद्वारा आत्महत्या !

  ०७६ वैशाख १७ गते

पत्नीको हत्या गरेको कसुरमा कैद सजाय भोगिरहेका जिरी नगरपालिका–९ ठुलोपातलका ३८ वर्षीय तस्वीर तमाङले वैशाख १७ गते चरिकोट कारागार भित्रै झुण्डिएर आत्महत्या गरेका छन् ।

तस्वीरले ०७५ मङ्सिर १० गते घरायसी विवादमा दाउराको चिर्पट प्रहार गरेर ३३ वर्षीय पत्नी राममाया तमाङको हत्या गरेका थिए ।

जिल्ला अदालत दोलखाले ०७६ वैशाख १६ गते तस्वीर तमाङलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय सुनाएको थियो ।

पत्नीको हत्या गरी फरार रहेका तस्वीरलाई ०७५ पुस १२ गते रामेछाप जिल्लाको मन्थलीबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

वैशाख १७ गते दिउँसो १२ बजेको समयतिर शौचालय छिरेका तस्वीर तमाङ धेरैबेर ननिस्केपछि झ्यालको प्वालबाट हेर्दा सुरूवालको इजारको पासो लगाई झ्यालको ग्रिलमा झुण्डिएर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका डिएसपी बासुदेव पाठकले जानकारी दिए ।


उद्धव पोखरेल