चक्रबहादुर खत्री आयोगको रोहबरमा रिहा

  ०७७ जेठ २६ गते

खोटाङ जिल्ला हलेसी तवाचुङ्ग नगरपालिका–२ का ३१ वर्षीय चक्रबहादुर खत्रीलाई जेठ २५ गते राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा रहेका खत्रीलाई सर्वाेच्च अदालतले जेठ २३ गते राष्ट्रिय मानव अधिकार आयोगको सदस्यको जिम्मा लगाउने आदेश भए अनुसार खत्रीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले ०७६ वैशाख २ गते खत्रीलाई गिरफ्तार गरी अभद्र व्यवहार मुद्दा चलाएको थियो । त्यस अवधि देखि जेठ २४ गतेसम्म ६ पटक नेपाल प्रहरीले स्वेच्छाचारी रूपमा गिरफ्तार गरी लकडाउनको अवधिमा समेत खोटाङ, उदयपुर, पुनः खोटाङ, सोलुखुम्बु हँुदै ०७७ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप गराई हिरासतमा राखेको थियो । .

राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान उपनिर्देशक लोकनाथ वास्तोलाले खत्रीलाई उहाँको परिवारको जिम्मा लगाएको बताउनु भयो ।

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले जेठ २५ गते प्रेस विज्ञप्ति मार्फत खत्री सर्वोच्च अदालतको जेठ २३ गतेको आदेश बमोजिम अयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा आयोग परिसर हरिहर भवनबाट जेठ २५ गते रिहा गरिएको जनाएको छ ।


दुर्गा परियार