चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरुद्ध उजुरी

  ०७३ असोज २७ गते

नारायण नपा-६ गणेशचोक नमूनाबस्तीकी ३३ वर्षीया जानकी वादीलाई दसैँमा माइतीघर गएको आरोपमा ३५ वर्षीय पति पदमबहादुर वादीले चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा असोज २७ गते प्रहरीमा उजुरी परेको छ ।

पीडित महिलालाई घर नजिकै नमूनाबस्तीमै बस्दै आएकी आमासँग दसैंको टीका लगाउन गएको आरोपमा असोज २७ गते दिउँसो चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले प्रहरीमा उजुरी गरेकी हुन् ।

चक्कु प्रहारबाट पीडित महिलाको निधार र गालामा गहिरो चोट लागेको छ । पीडित महिलाको स्वास्थ्योपचार दैलेख जिल्ला अस्पतालमा गरिएको छ । घटनालगत्तै आरोपित पदमबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।


अमर सुनार