चकमकेमा खानेपानीको अभाव, ३ सय घरधुरीको एउटा मात्रै धारो

  ०७६ साउन ३० गते

तिनपाटन गाउँपालिकाको केन्द्र नजिक रहेको ठूलो बजार चकमकेमा खानेपानीको अभाव रहेको छ । जहाँ दुई ओटा वडाका ३ सय घरधुरीले एउटै धारामा लाइन बसेर खानेपानी भर्दै आएका छन् ।

तिनपाटन-११ मा रहेको उक्त बजारका उपभोक्ताहरू वडा नं. ४ मा रहेको धारामा खोला तरेर पानी लिन जान्छन् ।

तिनपाटन गाउँपालिका कार्यालय नजिकै रहेको यो बजारका करिब ३ सय घरपरिवारले साँझ बिहान धारामा पानी लिन लाइन नै लागेर जानुपर्ने र डेढ दुई घण्टा लाइनमै बसेर पानी भर्नुपर्ने बाध्यता रहेको छ ।

वर्षातको समयमा हाँडीखोला बढेर छेक्ने डरले मौका हेरेर पानी भर्न जनुपर्ने तर निरन्तर वर्षा भयो भने खानेपानी लिन समेत जान नपाउने स्थानीयले बताए ।

एक गाग्री पानीको लागि बिहान बेलुका एक डेढ घण्टा लाईनमा बस्नु पर्ने बाध्यता रहेको स्थानीय तोतादेवी बोगटीले बताइन् ।

चकमके बजारबासीले वर्षातको समयमा झनै सास्ती झेलेको स्थानीय शिवप्रसाद गौतमले बताए । 'वर्षातको समयमा राति पानी पर्‍यो र खोलामा बाढी आयो भने महिला तथा शारीरिक रूपले कमजोर मानिसहरू पानी लिन जान सक्ने अवस्था हुदैन ।'-उनले भने ।

१५ वर्षदेखि बजारमा बसोबास गर्दै आएकी मन्तोरादेवी साहले वर्षौँदेखि पानीको समस्या उस्तै रहेको भन्दै वर्षाको बेलामा पुरूषहरूलाई साथमा लिएर महिलाहरू पानी लिन जानु पर्ने बाध्यता रहेको बताइन् ।

बजार क्षेत्रका लागि खानेपानीको एउटा मात्रै धारा भएको र पानीको अन्य व्यवस्था गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले बताए । उनले बजेटको अभावका कारण खानेपानीको व्यवस्था गर्न नसकिएको बताए ।

तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीले सञ्चालन गरेको खानेपानी आयोजना बजार क्षेत्रमा विस्तार भएको भए पनि त्यस धारामा आउने पानी पिउनको लागि अयोग्य रहेको गाउँपालिका अध्यक्ष थापाले बताए ।

डिभिजन कार्यालयले सिधै खोलाको पानी ल्याएको र त्यस खोलामा गाईवस्तु प्रवेश गरेपछि धमिलो पानी आउने र वर्षातको बेलामा त बाढी नै आउने गरेका कारण समस्या भएको उनले बताए ।


बिमला पाण्डे