घुन्साका विद्यार्थी छात्रवृत्ति पाउनबाट वञ्चित

  ०७६ असार २८ गते

घुन्सा आधारभूत विद्यालयका विद्यार्थी ‘हिमाली छात्रवृत्ति’ पाउनबाट वञ्चित भएका छन् । हिमाली छात्रवृत्ति विस्तार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को छात्रवृत्ति पाउनबाट उनीहरू वञ्चित भएका हुन् ।

घुन्सा आधारभूत विद्यालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट वार्षिक १० लाख ५० हजार रुपियाँ पाउनुपर्ने थियो ।

सो रकम विद्यालयमा अध्यनरत २० जना विद्यार्थीका लागि प्रदान गर्ने योजना रहेको प्रधानाध्यापक लीलाचक्र गुरुङले बताए ।

प्रअ गुरुङले भने–“असार सकिन साता मात्र बाँकी छ, छात्रवृत्ति रकम आएको छैन, अब कहिले र कसरी भुक्तानी होला ?” फक्ताङलुङ गाउँपालिकामा सम्पर्क गर्दा बुझेर भुक्तानी गर्छौ भन्ने जबाफ पाएको उनले बताए ।

असार २२ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा निवदेन पठाएलगत्तै केन्द्रले गाउँपालिकामा रकम उपलब्ध गराएको बताएपनि गाउँपालिका भने अन्यौलमा छ ।

गाउँपालिका कार्यालयमै रहेका गाउँपालिका अध्यक्ष सरोज एभेङले भने–“गाउँपालिकाका कार्यकारी अधिकृत र कर्मचारीलाई कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझ्न भनेको छु । यदि रकम भएको भए तु–भुक्तानी गर्छौ ।”

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाली चुङदा शेर्पाले भने-“असार २४ गते वित्यो । २५ गते नै खबर पाइयो भने सदरमुकाम पुग्न २ दिन लाग्छ । काम भइहाले पुरा धपेडी हुने भयो ।”

उक्त रकम ४० जना विद्यार्थी टिकाउन र सिकाउनसहित गास, बास र कपासमा खर्च हुने गरेको छ ।

प्रअ गुरुङले भने-“वर्षभरिको एकमुष्ट भुक्तानी दिनेगरि नुन तेल र चामल उधारो किनेका छौ । यदि भुक्तानी भएन भने पठनपाठन नै प्रभावित हुने खतरा छ ।”

उक्त रकम २० जनालाई मात्र दिए बाँकी विद्यार्थी पठनपाठनबाट वञ्चित हुने भएकाले उनीहरूलाई समेत छात्रवास सुविधा दिएर थप २० जना गरी ४० जनालाई सुविधा दिइएको हो ।

हिमाली क्षेत्रको दुर्गम बस्ती भएकाले दैनिक घण्टौ हिँडेर घर–विद्यालय गर्न सम्भव नभएकाले व्यवस्थित छात्रबास निर्माण गरेर विद्यार्थी राखिएको छ ।

कक्षा–८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा ५० जना विद्यार्थी अध्यनरत छन् । ४० जना विद्यालयमै बस्छन भने १० जना विद्यालय वरपर घर भएका विद्यार्थी पठनपाठन गर्छन् ।


देवराज गुरुङ