घाउ बल्झाउने काम मात्रै भयोः बेपत्ता परिवार

  ०७५ भदौ १४ गते

बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको अवस्थामा सल्यानका बेपत्ता व्यक्तिका परिवारले राज्यले पुरानो घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका छन् ।

सशस्त्र द्वन्द्वको समयमा राज्य र बिद्रोही माओवादी दुवै पक्षबाट बेपत्ता पारिएका आफन्तहरूले राज्यले पीडितहरूको घाउमा मल्हम लगाउनुको सट्टा घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका हुन् । उनीहरूले आफन्तलाई बेपत्ता पारिएको दुई दशक बढी हुँदा पनि राज्यले न जीवित भएको, न त मरेको केही नभन्दा झन् समस्या भएको बताएका हुन् ।

बागचौर नपा–१० पिपलनेटाका घमण्ड बुढाथोकीले आफ्नो छोरा बेपत्ता पारिएको १८-२० वर्ष हुँदा पनि अहिलेसम्म आफूलाई छोराको विषयमा केही जानकारी नभएको बताए । ‘मेरो छोराले के गल्ती गरेको थियो ? गल्ती गरेको भए सजाय हुँदो हो । छलफल हुँदो हो । कारबाही हुँदो हो । तर, बेपत्ता किन पारियो ?’–उनले प्रश्न गरे ।

छोरा फर्कने आशले बसेको दुई दशक पुरा हुँदा पनि अहिलेसम्म केही थाहा नभएको उनले बताए । ‘न बाँचेको छ न त मरेको केही थाहा नपाउँदा हरेक क्षण छोरो टुप्लुक्क आउँछ की भन्ने आश लाग्छ ।’–उनले भने । घमण्डका छोरा पोखरराज बुढाथोकीलाई ०५८ चैत २६ गते काठमाडौं मानपा–३५ बाट सादा पोशाकका नेपाली सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

यस्तै कपुरकोट गाउँपालिका–६ सिन्वाङकी अमृता बोहराले आप्mनो बुवा बेपत्ता पारिएको वर्षौँ बितिसक्दा पनि केही जानकारी नपाएको बताइन् । ‘घरको मुली बुवा हुनुहुन्थ्यो, उहाँ बेपत्ता भएको दुई दशक बढी भयो । राज्य मौन छ । बाहिर हेर्दा राम्रो देखिएपनि मनमा कति पीडा हुन्छ, त्यो पीडितलाई थाहा हुन्छ ।’–उनले भनिन्–‘स्थानीय शान्ति समितिमार्फत द्वन्द्व पीडित परिवार भनेर १० लाख रुपियाँ पाएका थियौँ । तर, अहिलेसम्म बुवाको विषयमा कुनै जानकारी नपाउँदा भित्रभित्रै साह्रै मन पोल्छ ।’ अमृताका बुवा ३१ वर्षीय बेदबहादुर बोहरालाई ०५९ माघ १८ गते घरबाटै नेपाली सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

उनले राज्यले बेपत्ता पारिएकाका बिषयमा छानबिन गर्न समिति गठन भएको झण्डै चार वर्ष हुँदापनि केही गर्न नसकेको आरोप लगाइन् । ‘सरकारले छानबिन समिति गठन गर्दा हामी खुसी थियौँ । बुवा जिवित नआएपनि सत्य तथ्य पत्ता लाग्छ । दोषीलाई कानुन बमोजिम कारबाही हुन्छ भनेर धेरै वर्ष बिते । हाम्रो पीडा जस्ताको त्यस्तै छ ।’–उनले भनिन् । इन्सेकको तथ्याङ्क अनुसार सल्यानमा २५ जना बेपत्ता छन् ।


मिना बुढाथोकी