घाइते अवस्थामा भेटिएका ज्येष्ठ नागरिकको उद्धारपछि अस्पतालमा उपचार

  ०७६ कात्तिक १५ गते

सडकमा रक्ताम्मे भेटिएका तातोपानी गाउँपालिका–१ राँका गाउँका ६० वर्षीय मुसो दमाईलाई सडकमा ढलिरहेको अवस्थाबाट उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा उपचारका लागि पु¥याइएको छ ।

लामो समयदेखि सडकमा बसिरहेका अपाङ्गता भएका दमाईलाई विक्षिप्त अवस्थामा सडकमा भेटेपछि इन्सेक प्रतिनिधि, हाँकु प्रहरी चौकीका प्रतिनिधिलगायत सञ्चारकर्मी र स्थानीयहरूले तातोपानी गाउँपालिकाको कार्यालयलाई उनको अवस्थाबारे कात्तिक १४ गते टेलिफोनमार्फत् जानकारी गराएका थिए ।

खाने र बस्ने कुनै आधार नभएपछि सडकमा ह्वीलचेयरको सहयोगमा जीवन बिताइरहेका दमाई कर्णाली राजमार्गको लाम्राखण्ड अन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्था नजिकै शरीरमा रगत बगिरहेको अवस्थामा भेटिएपछि स्थानीयले रकम सङ्कलन समेत गरेका थिए । मिर्गौलामा समस्या भएका दमाईलाई हाँकु प्रहरी चौकीको गाडीमा अस्पताल पुर्‍याइएको थियो ।

ह्वीलचियर लडेर नालीमा खसेपछि तीनदिनदेखि सडकमै छटपटाएर बसेको उनको भनाई छ । ‘तिहारको  दिनमा पनि राम्रोसँग खाना खान पाइएन ।’–उनले भने–‘छाक टार्नका लागि अर्को गाउँ हिँड्दै थिएँ । एउटा गाडी माथिबाट आयोे, म तलबाट ह्वीलचेयरमा आउँदै थिए, छेउ लाग्दै थिएँ, नालीमा लडेर पुरानो घाउबाट निरन्तर रगत बग्न थाल्यो ।’

‘तिहारको अघिल्लो दिनबाट तिघ्राबाट रगत बगेर सडकमै थिएँ । अस्पताल आउन खोज्दा कुनै गाडीले पनि ल्याउन मानेनन् र खान पनि पाइनँ ।’–दमाईले भने ।

आफू घाइते भएर काम गर्न नसक्ने भएपछि पत्नीले पनि छाडेर गएको र आफ्नो सहारा कोही नभएको उनले बताए ।

दायाँ गोडामा रहेको उनको पुरानो घाउबाट निरन्तर रगत बगेर सडक पनि रातै भएको थियो । ‘दिसापिसाव सबै शरीरमै भएको देखिएपछि सबै मिलेर ९ हजार रुपियाँ पनि सङ्कलन गरेका थियौँ । त्यसपछि स्थानीय प्रशासन, सञ्चारमाध्यम र प्रहरीमा खबर गर्‍यौँ ।’–तातोपानी गाउँकार्यपालिका सदस्य तथा स्थानीय आदिप्रसाद न्यौपानेले बताए ।

दमाईको निःशुल्क उपचार सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले गोडामा घाउ भएका दमाईको निःशुल्क उपचार गर्ने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

विपन्न नागरिकको उपचारको घर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले प्रतिष्ठानले उनलाई निःशुल्क उपचार गर्ने काफ्लेको भनाई छ ।

उनकोे उपचारमा प्रतिष्ठानका हड्डी विशेषज्ञ डाक्टर मङ्गल रावलसहितको चिकित्सकको टोली खटिएको डाक्टर काफ्लेले जानकारी दिए ।


मानदत्त रावल