घरेलु हिंसा पीडित महिलाको इन्सेकको पहलमा उद्दार

   ०७७ असार १६ गते

वनगाड कुपिण्डे नगरपालिका–५ की २१ वर्षीया जमुना रानालाई इन्सेकको पहलमा आवासको व्यवस्थापन समेत गर्ने गरी उद्दार गरिएको छ ।

पीडित महिलालाई २४ वर्षीय पति लोकेन्द्र रावत, ३२ वर्षीय जेठाजु कमल रावत, २६ वर्षीय माइलो जेठाजु सुकबिर रावत, २९ वर्षीया माइली जेठानी विमला रावत र ७१ वर्षिय ससुरा वुद्धि रावतले कुटपिट गरेर घर निकाला गरेपछि दुई वर्षदेखि छिमेकीको घरमा बस्दै आएको पीडितले इन्सेकलाई बताउनुभयो ।

कुटपिटपछि परिवारसंँग मिलेर बस्ने अवस्था नरहेपछि पीडित महिलाले ०७६ कात्तिक १९ गते जिल्ला अदालत सल्यानमा अंश सहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

अदालतमा मुद्दा दर्ता भएपछि छिमेकीको घरमा पनि बस्न नदिएको र आफूले दुःख गरेर आर्जन गरेको अन्नबाली पनि खोसेर लगेपछि नगरपालिकाको न्यायिक समितिमा ०७७ असार ३ गते उजुरी दिएको पीडित रानाले बताउनुभयो ।

असार ५ गते न्यायिक समितिमा दुवै पक्षलाई सम्झाएर मेलमिलापमा घर फर्काइको न्यायिक समितिकी संयोजक तथा नगरपालिकाकी उपप्रमुख मञ्जु यरीले जानकारी दिनुभयो । पीडित महिलाका अनुसार न्यायिक समितिबाट फर्केको दिन पनि पतिले कुटपिट गरेका थिए ।

पीडितको पछिल्लो अवस्थाबारे जानकारी पाएपछि नगरप्रमुख गोविन्दकुमार पुनले मुद्दा अदालती प्रकृयामा गइ सकेकाले आफूहरूले केही गर्न नमिल्ने भन्दै पीडितलाइ आवश्यक संरक्षण र कानुनी परामर्श दिन भन्दै इन्सेक सल्यानलाइ आग्रह गर्नु भयो ।

पीडित महिलालाई इन्सेकको पहलमा असार १४ गते जिल्ला स्थित सुरक्षित आवास गृहमा राखिएको छ । तत्काल घर फर्कने वातावरण नरहेको पीडितले बताएपछि केही दिन आवासगृहमा राखिने आवासगृहका सञ्चालक हेमराज थापाले बताउनुभयो ।

घटनाबारे इन्सेकले जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडालाई जानकारी गराएपछि उहाँले घटनाबारे थप बुझ्ने बताउनुभयो ।

मुुद्दा अदालती प्रक्रियामा गएको कारण न्यायाधीशसँग समन्वय गरी पीडित महिलालाई न्याय प्राप्तीमा सहयोग गर्ने डिएसपी खतिवडाको भनाइ छ ।


मिना बुढाथोकी