घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग

  ०७७ असार ३० गते

इन्सेकद्वारा सञ्चालित मानव अधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार ३० गते दुईजना घरेलु हिंसा पीडित महिलाहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ४ की २९ वर्षीया कमला भण्डारी खडका र भेरीगंगा नपा १ घर भई वीरेन्द्रनगर नपा ४ मा बस्दै आएकी ३३ वर्षीया शोभा गुरुङ्गलाई कानुनी प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिव्यक्ति १५ हजार रुपियाँ सहयोग प्रदान गरेको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

हिंसा निगरानी समूहमा उनीहरूले दिएको निवेदनका आधारमा निगरानी समूह र इन्सेकको संयुक्त अनुगमनपछी गरिएको सिफारिस अनुसार पीडित महिलालाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताउनुभयो ।


दुर्गा थापा