घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी दर्ता

  ०७६ कात्तिक २५ गते

महावै गाउँपालिका–२ की १६ वर्षीया तारा लुहारलाई बच्चा नजन्माएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडित बालिकाले २४ वर्षीय पति पुन्न लुहारविरूद्ध कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।
पीडित बालिकालाई आरोपितले १४ वर्षको हुँदा ०७४ भदौ १५ गते सहमति विपरीत विवाह गरेका थिए । आरोपितले कात्तिक २१ गते राति कुटपिट गर्नुका साथै घर निकाला गरेको पीडितको आरोप रहेको छ ।

आरोपितले खाँडाचक्र नपा–४ की १८ वर्षीया सुशीला लुहारसँग बहुविवाह गरी छोरा जन्मेपछि आफूलाई घरनिकाला गरेको पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।

पीडितको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको उजुरीपछि फरार आरोपितको खोजी कार्य जारी रहेको र गिरफ्तार पश्चात् घटनामाथि आवश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।


कालीबहादुर मल्ल