घरेलु हिंसा घटनाको आरोपमा जेठाजु गिरफ्तार

  ०७६ जेठ ३० गते

बोदे बर्साइन नपा-२ की ३५ वर्षीया प्रतिभा यादवलाई कैँचीले प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ४६ वर्षीय जेठाजु ज्ञानेन्द्रप्रसाद यादवलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले ४० वर्षीय भाइ दिपेन्द्रप्रसाद यादवलाई समेत कुटपिट गरेको आरोप छ । घरायसी विवादमा ज्ञानेन्द्रप्रसाद यादव, उनकी पत्नी ४५ वर्षीया निलमदेवी यादव तथा छोराहरू २३ वर्षीय अभिषेककुमार यादव र २१ वर्षीय निमेशकुमार यादवले बोदे बर्साइन नपा-५ मा जेठ २५ गते राती धारिलो हतियारले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा जेठ २७ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरले जेठ २७ गते नै उजुरी दर्ता गरेको छ ।

घाइते प्रतिभाको टाउको र दाहिने कोखामा चोट लागेको छ भने दिपेन्द्रको टाउको, छाती, पिठ्यूँलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दिपेन्द्रको पिठ्यूँबाट कैँचीको दुई ओटा फलामको टुक्रा निकालिएको छ । घाइतेहरूको उपचार नोबेल अस्पताल विराटनगरमा भइरहेको कल्याणपुर प्रहरीले जनाएको छ । अन्य आरोपितहरू फरार रहेका छन् ।


मनोहरकुमार पोखरेल