घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार

  ०७६ जेठ २३ गते

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ काककोट बस्ने २८ वर्षीया क्याङजु गुरुङलाई कुटपिट गरी हात भाँचेको आरोपमा प्रहरीले ३५ वर्षीय पति फुर्वा गुरुङलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १९ गते कुटपिट गरेर हात भाँचेको भन्दै कारवाहीको लागि पीडित महिलाले पतिविरूद्ध जेठ २० गते जिल्ला प्रहरी कार्यालय दुनैमा उजुरी दिएकी छन् ।

पीडित पक्षको उजुरीपछि नाउरपानी स्थित यार्सापाटनमा रहेका गुरुङलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी अवदेश विष्टले जानकारी दिए ।

पतिको कुटपिटबाट बायाँ हात भाँच्चिएर घाइते बनेकी पीडितलाई उपचारको लागि जेठ २१ गते नै नेपालगञ्ज लगिएको डिएसपी विष्टले जानकारी दिए ।

यार्सागुम्बा टिप्न पाटनमा जाने विषयलाई लिएर विवाद हुँदा गुरुङले चिरपट दाउराले कुटपिट गर्ने क्रममा ढाडमा प्रहार गर्दा हातमा लागेर भाँच्चिएको डिएसपी विष्टले बताए ।


विष्णुप्रसाद देवकोटा